रात्रिकालीन विराट गोल्डकप आजदेखि, विजेतालाई २० लाख १५ हजार

विराटनगर । राजधानी बाहिरको ठूलो पुरस्कार राशिको विराट गोल्डकप आजदेखि शुरु हुँदैछ । आज साँझ विराटनगरमा रहेको सहिद रंगशालामा प्रतियोगिता शुरु हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने छन् । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रमको आयोजना गर्ने र ७ बजेदेखि प्रतियोगिता सुरु हुने आयोजक विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले बताए ।  रात्रीकालीनरूपमा आयोजना हुने प्रतियोगिता मोफसलकै चर्चित फुटबल प्रतियोगिता हो । प्रतियोगितामा आठ टिमले नकआउट प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रूपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन् ।

भारतको लुका सकर र ड्ररुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन् । अघिल्लो संस्करणका विजेताले १५ लाख १५ हजार पुरस्कार पाएकोमा यस पटक भने २० लाख १५ हजार रुपैयाँ नगद र आकर्षक शिल्ड प्रदान गरिने छ । यसैगरी उपविजेताले १० लाख २५ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको प्रत्येक खेलका विजेता टिमले नगद २५ हजार पाउनेछन् । विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । ऐतिहासिक गोल्डकपबाट उतिनै रकम नाफा हुन सक्ने आँकलन आयोजकको छ ।

२०१८ सालमा तत्कालीन बडाहाकिम दामोदर शमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेका थिए । गणतन्त्र प्राप्तिपछि त्यही प्रतियोगिता विराट गोल्डकपको नाममा शुरु हुन थालेको हो । २०६८ सालबाट प्रतियोगिताको नाम विराट गोल्डकप राखिएको थियो ।

काठमाडौँ उपत्यका बाहिर रात्रिकालीन फुटबल प्रतियोगिता विराटनगरमा हुँदै आाएको छ।  २०७४ चैत्र १७ देखि रात्रिकालीन फुटबल सुरु भयो ।   विराटनगरका दर्शकलाई रंगशालामा तान्नको लागि रात्रिकालीन फुटबल प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।

विराट गोल्डकप २०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्ड कपको रूपमा यसको सुरुआत भएको इतिहास छ । ३९ वर्षसम्म नियमितरूपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने ११ वर्षसम्म गोल्ड कप हुनै सकेन । त्यसपछि नाम परिवर्तन गर्दै विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

२०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको थियो । विगत दुई संस्करणयता विराट गोल्डकप फ्लड लाइटको सहायतामा रात्रिकालीन रूपमा आयोजना गरिँदै आइएको छ । प्रतियोगिताको पहिलो खेल इसिएफसी र नेपाल पुलिसको बिचमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *