किलियन एम्बाप्पे फ्रान्सको कप्तान बनेपछि ग्रीजम्यान असन्तुष्ट

काठमाडौँ । विश्वकपको उपविजेता फ्रान्स टिमको नयाँ कप्तान किलियन एम्बाप्पे बनेपछि एन्टोनी ग्रीजम्यान असन्तुष्ट भएका छन् ।

विश्वकपपछि फ्रान्सका तत्कालीन कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सको कप्तान पद खालि रहेको थियो । अहिले युरो कपको छनौट खेल शुरु हुनुअघि प्रशिक्षक डिडीयर डेसच्याम्प्सले युवा खेलाडी एम्बाप्पेलाई कप्तानी सुम्पिएको हुन् । युवा खेलाडी एम्बाप्पेलाई कप्तान बनाएपछि सिनियर खेलाडी ग्रीजम्यान असन्तुष्ट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्ला वर्षहरूमा ग्रीजम्यानले फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सिनियर खेलाडीहरू लोरिस, राफेल भेरानेले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि उनलाई राष्ट्रिय टिमको कप्तानको स्वाभाविक दाबेदार मानिएको थियो । तर प्रशिक्षक डेसच्याम्प्स भने ग्रीजम्यानको सट्टा युवा खेलाडी एम्बाप्पेलाई विश्वास गर्दै कप्तानको जिम्मेवारी दिएका हुन् ।

फ्रान्सका लागि ११७ खेल खेलेर ४२ गोल गरिसकेका ग्रीजम्यानलाई प्रशिक्षक डेसच्याम्प्सका निकै भरपर्दा र विश्वासिला खेलाडीको रूपमा हेरिने गरिन्थ्यो । एम्बाप्पे युवा खेलाडी भएको र अझै कम्तीमा १० वर्ष राष्ट्रिय टिममा खेल्न सक्ने भएकाले दीर्घकालीन रूपमा उनलाई कप्तान बनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

यस घटनाले ग्रीजम्यानको अन्तर्राष्ट्रिय खेलमा लामो भविष्य नरहेको संकेत गरेको पनि फ्रेन्च मिडियाहरुले विश्लेषण गरेका छन् । फ्रान्सले युरो छनौट अन्तर्गत अर्को साता नेदरल्याण्डस र रिपब्लिक अफ आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *