स्वास्थ्य कार्यालय ललितपुरले ५५ वर्षमाथिका वृद्धलाई बुस्टर डोजको दोस्रो मात्रा दिने

काठमाडौँ । ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो
।
स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिस विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुष्टर डोजको दोस्रो मात्रा दिन लागेको हो ।
यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ ।
‘पहिलो चरणमा ९ र १० गते ३१ हजार खोप दिन्छौं,’ विष्टले भने, ‘त्यसका लागि स्थानीय तह अनुसार वितरण व्यवस्था मिलाइएको छ। ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५७२४, गोदावरी नगरपालिकामा ३१८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई फाइजर“बायोएनटेक भ्यालेन्ट एडल्ट बुस्टर डोज खोप लगाउँछौँ।’
जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विस्टले बताए।
५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने उनको भनाई छ।
‘जिल्लामा प्रचारात्मक रुपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गर्छौँ, खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुस्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विस्टले थपे ।
महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए ।








