मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

विराटनगर । विराटनगर मोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ । मोरङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि संघीय सांसदमा निर्वाचित भएपछि योगेन्द्र मण्डलले आफ्नो निर्वाचन क्षेत्रको शिक्षामा सुधार गर्ने बताएका थिए । आफ्नो योजना र प्रतिबद्धता पुरा गर्नका लागि अभियानको रूपमा कार्यक्रमको थालनी गरिएको छ ।

सांसद मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विद्यालयहरूको सुधारको लागि धेरै काम गर्न सकिने बताए ।  ‘अहिले शिक्षाको अवस्था अत्यन्त कमजोर रहेको छ, उनले भने, शिक्षा क्षेत्रको सुधारको लागि सबै मिलेर सामान्य पहल गर्ने हो भने धेरै सुधार हुनसक्छ ।’

विराटनगरमा जीवन विकास समाजको सहयोगमा शिक्षा विकास तथा समन्वय इकाई मोरङ र संघीय सांसद  योगेन्द्र मण्डलको सहकार्यमा शिक्षा सुधार अभियान अन्तर्क्रिया क्रममा  मोरङ क्षेत्र नम्बर ५ अन्य क्षेत्रको तुलनामा शिक्षाको अवस्था कमजोर रहेको औँल्याईएको छ । अरू पालिकाहरूले शुरु गरेको असल अभ्यासलाई यो क्षेत्र अन्तरगतका पालिकाले सिको गरेर विद्यालय  शिक्षा सुधारको अभियान चलाउनु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले यस निर्वाचन क्षेत्र अन्तरगत गर्ने जहदा, धनपालथान, विराटनगर महानगरपालिकाका केही वडा रंगेली नगरपालिकाका केही वडाको शिक्षाको अवस्था सुधार गर्न निक्कै मेहनत गर्नु पर्ने बताए ।   ‘शिक्षाको गुणस्तर सुधार हुन नसक्नुको कारण विद्यालयमा पर्याप्त दरबन्दी पनि नभएको अवस्था छ, उनले भने, जहदामा रहेका ९ वटा माध्यमिक विद्यालयहरूमध्ये माविको दरबन्दी जम्मा ६ जना मात्र रहेको छ ।’

नेपालमा शिक्षा क्षेत्रका नाम चलेका विज्ञ, नेपाल सरकारका शिक्षा हेर्ने विभाग, मन्त्रालय, बोर्डका अधिकारीहरू, मोरङ क्षेत्र नम्बर ५ का स्थानीय तहका प्रमुख, उपप्रमुख, त्यस क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा छलफल भएको थियो । मोरङ जिल्लामा शिक्षा सुधारको लागि असल अभ्यास गर्दै आएका विद्यालयहरूले  सुधार हुनुका कारणहरू प्रस्तुति गरेका थिए । विराटनगरको आदर्श माध्यमिक विद्यालयका सन्तोष पोखरेल, पोखरिया माध्यमिक विद्यालयका खेमराज भट्टराईले तथा बेलवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले पालिकामा भएको असल अभ्यास प्रस्तुत गरेका थिए । विद्यालय शिक्षा सुधारका लागि विद्यालय एक जिम्मेवारी अनेक पद्धतिको कार्यान्वयन  गर्नु पर्ने, कक्षा एक प्रथम अनेक अवधारणाका साथ विद्यार्थीले जानेका कुरालाई पनि प्रथम बनाउने रणनीतिले शिक्षामा सुधार हुने कोइरालाले बताए ।

विद्यालय हाम्रो चोक अभियान मार्फत सरसफाइ अभियान चलाउनु पर्ने, हामी बनाउँछौ हाम्रो विद्यालय मार्फत यस अघि  त्यस विद्यालयमा पढेर बाहिरिएका विद्यार्थीहरूको साथ आवश्यक हुने बताए । विद्यालयहरूले हामी लेख्छौ हाम्रो इतिहास,  मेरो विद्यालय मेरो पहिचान, हामी शिक्षक सक्षम छौ अभियान चलाउँदा एक वर्षमा बेलवारी नगरपालिकामा १५ सय विद्यार्थी थपिएको उनले बताए ।

जनप्रतिनिधिको आरोप प्रअलाई
शिक्षा क्षेत्र सुधारका लागि अभियान चलाउने क्रममा विद्यालय शिक्षा स्थानीय तहमा हुँदा हुँदैपनि स्थानीय तहका जनप्रतिनिधि  विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने कुरा आफ्नो भन्दा प्रधानाध्यापकको भूमिका बढी हुनु पर्ने बताउँछन् ।  विद्यालय शिक्षा सुधार गर्नको लागि पहिला शिक्षक र प्रधानाध्यापक सुध्रिनु पर्ने जनप्रतिनिधिको भनाई छ ।

धनपालथान  गाउँपालिकाका अध्यक्ष जीवन गच्छदारले शिक्षाको सुधार नहुँदासम्म अरू काम प्रभावकारी नभएको बताए । उनले अरू पालिको तुलनामा धनपालथानमा शिक्षाको अवस्था कमजोर रहेको बताए  । शिक्षाको सुधारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे  । ‘सबै एकजुट भएर अघि नबढ्ने हो भने विद्यालयको सुधार हुन सक्छ, उनले भने, हामीले  सडक निर्माण गरेका छौँ, कालोपत्रे गरेका छौँ तर सडकमा गाई बाँध्ने गोबर थुपार्ने काम हुन्छ त्यो भनेको शिक्षाको कमीले हो ।’  भौतिक विकासलाई दिगोपन दिनका लागि शिक्षा क्षेत्रको विकास  हुनु जरुरी रहेको उनले बताए । ‘विद्यालयका शिक्षक, प्रअहरु सबै मिलेर अभियान चलाऔँ, कसको के कमी कमजोरी छ त्यसलाई सुधार गर्न सबै तयार हुनु पर्छ, उनले भने, म मेरो तर्फबाट सुधारको अभियान चलाउन तयार छु ।’

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले एउटा जनप्रतिनिधिले शिक्षा सुधारको कुरालाई मनन् गरेर मात्र  नहुने बताए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने हो भनेँ प्रअहरू जिम्मेवार बन्नु पर्ने बताए  । उनले शिक्षक र प्रअले पठन पाठनलाई पुरै समय दिने हो भने मात्र  पनि धेरै सुधार हुने उनको तर्क छ ।  ‘शिक्षा क्षेत्रमा सुधार हुन नसकेको तथ्यलाई मैले पनि स्वीकार गर्छु, उनले भने,  म एक्लैले केही गर्न सक्दिन यस्तो काममा शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्छ ।’

शिक्षा क्षेत्रका जानकार डा ध्रुवराज रेग्मीले शिक्षाको गुणस्तरको बारेमा मोरङका विद्यालयमा अध्ययन र अनुसन्धान गरेको बताए । अन्तर्राष्ट्रिय रूपमा शिक्षाको लय कसरी अघि बढेको छ भन्ने बासेमा उनले जानकारी गराएका थिए ।  क्वालिटी हेर्दा विद्यार्थी धेरै, धेरै शिक्षक वा पूर्वाधार मात्र भएर नहुने बताएका उनले विद्यालयले एक वर्षमा कसरी काम गर्याे प्रक्रियामा गर्याे की गरेन भन्ने मूल कुरा रहेको औँल्याए । प्राकृतिक संरचना,  संस्कृतिको संरक्षण, समाजको समन्वय, अर्थतन्त्रको बारेमा शिक्षाले जोड दिनु पर्ने बताए । ‘कोभिड पछाडि शिक्षाको परिभाषा परिवर्तन भएको छ, उनले भने, पाठ्यक्रम, माध्यममा व्यापक परिवर्तन भएको छ ।’ पछिल्लो समय शिक्षा ग्रिनिङ एजुकेशन र डिजिटल ट्रान्सर्फमरमेशन एजुकेशनमा ध्यान ध्यान केन्द्रित गर्नु पर्ने अवस्था रहेको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका जयप्रसाद आचार्यले शिक्षकहरूसँग शक्ति हुँदा हुँदै अरूको मुख ताक्न नहुने बताए  । नगरपालिका संघ र गाउँपालिका महासंघको बिचमा शिक्षा सुधारको लागि एमओयुमा हस्ताक्षर भएको बताएका उनले अब अरूको भर परेर शिक्षा सुधार हुन नसक्ने बताए । शिक्षाको कामलाई अन्तरपालिका समन्वय गरेर जान सकियो भनेँ यसले पालिकाको शिक्षाको सुधारमा काम हुनसक्ने उनको भनाई छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षाको सुधारका लागि विद्यार्थीको सिकाई उपलब्धिसँग जोडेर जानु पर्ने बताए । अङ्ग्रेजी, गणित र विज्ञान विषयसँगै विद्यार्थीले प्राथमिक तहमा उसले कति सिकाई उपलब्धि हासिल ग-यो त्यसलाई आधार बनाएर अघि बढ्न विद्यालयहरूलाई सुझाव दिए ।  ‘विद्यालय शिक्षा सुधारको लागि हरेक माननीयले आफ्नो निर्वाचन क्षेत्रमा सुधार गर्नुपर्छ भन्ने सन्देश माननीय योगेन्द्र मण्डलले ज्यूले दिनु भएको छ, शर्माले भन्नुभयो, यसले पुराना अनुभव र अहिलेको अभ्यासका बिच कसरी सुधार गरेर जाने भन्ने स्पष्ट खाका दिएको छ।’

ठाउँ र परिवेश अनुसार गुणस्तरीय शिक्षा विद्यालयमा जसरी सफल हुन्छ त्यसैगरी काम गर्नु पर्ने उनको भनाई छ । यो कार्यक्रमले एकले अर्कोलाई सिक्ने र सिकाउने ठाउँको रूपमा विकास गर्ने पनि शर्माले बताए ।  शिक्षा क्षेत्रका जानकार सुरेशराज शर्माले  सबै निर्वाचन क्षेत्र, सबै पालिका, सबै वडाहरूमा अभियानको रूपमा शिक्षाको गुणस्तर सुधार  चलाउनु पर्ने बताए ।

प्रतिक्रिया

One thought on “मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

  1. नेपालकाे सन्दर्भमा सुधार वटम टु टप नै हुनुपर्छ नत्र सम्भव देखिदैन ।कार्यक्रम ले इच्छाशक्ति हुनेहरुलाई राम्रो सन्देश दिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *