कोशी प्रदेश नामकरणले विराटनगर अशान्त बनेपछि दिल्ली एफसी विराट गोल्डकपमा सहभागी नहुने

बिराटनगर। मोफसलकै सर्वाधिक राशिको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘पूर्वको सान’ मानिने विराट गोल्डकपको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म आयोजना हुँदैछ।

रात्रीकालीनरूपमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। मोफसलकै चर्चित फुटबल प्रतियोगिता हो, विराट गोल्डकप । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्ड कपको रूपमा यसको सुरुआत भएको इतिहास छ।

३९ वर्षसम्म नियमितरूपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने ११ वर्षसम्म गोल्ड कप हुनै सकेन । त्यसपछि नाम परिवर्तन गर्दै विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो।

२०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको थियो । विगत दुई संस्करणयता विराट गोल्डकप फ्लड लाइटको सहायतामा रात्रिकालीन रूपमा आयोजना गरिँदै आइएको छ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। ऐतिहासिक गोल्डकपबाट उतिनै रकम नाफा हुन सक्ने आँकलन आयोजकको छ । प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिइएको छ।

प्रतियोगितामा आठ टिमले नकआउट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रूपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । यस्तै भारतको लुका सकर र ड्ररुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन्।

कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्डकपमा सहभागी हुने बताएको दिल्ली एफसी भने सहभागी नहुने भएको आयोजकले जनाएको छ। दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको हो।

अघिल्लो संस्करणका विजेताले १५ लाख १५ हजार पुरस्कार पाएकोमा यस पटक भने २० लाख १५ हजार रुपैयाँ नगद र आकर्षक शिल्ड प्रदान गरिने छ । यसैगरी उपविजेताले १० लाख २५ पुरस्कार पाउने छन्।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को नियमानुसार सञ्चालन हुने प्रतियोगिताको प्रत्येक खेलका विजेता टिमले नगद २५ हजार पाउनेछन् । यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *