निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ९० करोड रकमान्तर गरी मुख्यमन्त्री र मन्त्रीको रजाइँ

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकमान्तर गरेर मुख्यमन्त्री र मन्त्रीहरूले आफू अनुकूलका योजनामा बजेट हालेको पाइएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८०को निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट ९० करोड रकमान्तर गरिएको पाइएको छ ।

निर्वाचनको आचारसंहिता लागिसकेको बेलामा २०७९ असोज १२ गतेको निर्णयले रकमान्तर भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यो बेला प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीका सचिव राजेन्द्रकुमार राई थिए । आर्थिक मामिला तथा योजना मन्त्री माओवादीका नेता इन्द्रबहादुर आङ्बो थिए । प्रदेश सभाका सांसदहरूले रेडबुकमा आएको रकम खोजी गर्न थालेपछि सरकारले यो बारेमा जवाफ दिन सकेको थिएन ।

निर्वाचनमा प्रभावित पार्नकालागि आचारसंहिताको समेत ख्यालै नगरी निर्वाचनलाई प्रभावित पर्नेगरि रकमान्तर भएको बारेमा सांसदहरूलाई नै गुमराहमा राखिएको छ। सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खोज्न थालेपछि सरकार समेत यसको जवाफ सदनमा दिन सकेको छैन ।

मकालु खबरले प्रदेश १को आर्थिक मामिला तथा योजना मन्त्रालयमा रकमान्तर भएको विषयमा सूचना माग गरेको थियो । माग गरिएको सूचनाका आधारमा मन्त्रालयले उपलब्ध गराएको सूचनामा २४ वटा योजनामा ९० करोड रकमान्तर गरेर पैसा बाँडेको पाइएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगतको रकम विभिन्न जिल्ला पूर्वाधार कार्यालय मार्फत खर्च गर्ने गरी बजेट रकमान्तर गरिएको छ । पूर्वाधार विकास कार्यालय पाँचथर मार्फत खर्च गर्नेगरी गुफा–भुजे–देउराली गोरजा चाँगे दोभान जोड्ने सडकलाई ४६ लाख बजेट रकमान्तर भएको छ। त्यस्तै पूर्वाधार विकास कार्यालय सङ्खुवासभा मार्फत खर्च गर्ने गरी पाँच वटा योजनालाई १७ करोड ४ लाख रकम रकमान्तर गरिएको छ । सिधुवा–शुक्रबारे–ओखरे–म्याङलुङ सडक तेह्रथुमलाई ६ करोड, मेसो जलजले भण्डारी डाँडा ईसिबु सकानीति आठराई मेदाप सडक तेह्रथुमलाई ५ करोड, गुफापोखरी–चैनपुर बाह्रबिसे सडक सङ्खुवासभालाई ३ करोड, माने भञ्ज्याङ चन्दनपुर हलुवाबेशी सडक सङ्खुवासभामा ३ करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट रकमान्तर भएको छ। तेह्रथुमको पिङ्वाखोला आसपाते झोलुङ्गे पुललाई ४ लाख हालिएको छ । रकमान्तर गरेर सङ्खुवासभामा हालिएका अधिकांश योजनाहरू मुख्यमन्त्री राईले एकीकृत समाजवादीकी सांसद तथा सामाजिक विकास समितिकी तत्कालीन सभापति सरिता थापाको निर्वाचन क्षेत्र लक्षित रकमान्तर गरेर हालेको श्रोतको दाबी छ ।

मुख्यमन्त्रीको जिल्लामा १८ करोड
निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईको जिल्ला भोजपुर भौतिक पूर्वाधार विकास कार्यालय मार्फत खर्च गर्ने गरी १८ करोड बजेट रकमान्तर भएको छ । भोजपुर लक्षित मात्र १८ करोडको रकम निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट राईले रकमान्तर गराएका छन् । पिखुवाखोला सडक पुल–खाल्डे–ट्याम्केमयुँ भोजपुरलाई १ करोड, हिले–(उत्तरपानी –छिन्ताङ अखुवा त्रिवेणी बहुबर्षीय सडकमा २ करोड, भोजपुर टक्सार मानेभञ्ज्याङ बैकुण्ठे बासीखोरा रानिटारलाई ५ करोड बाँडिएको छ । कर्मीटार–बन्चरे–ताङ्खुवा तेलिया परेवादिन शुक्रवारे सडकलाई ५ करोड, षडानन्द नगरपालिका १२ झ्याउँ पोखरी साङपाङहुँदै फाली दोबाटो सडकलाई ४ करोड रकमान्तर गरिएको छ ।

त्यस्तै निवर्तमान सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले आफ्नो जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधारको रकम ५ करोड हाल्न सफल भएका छन् । उनले पूर्वाधार विकास कार्यालय उदयपुर मार्फत खर्च गर्ने गरी देउरी–श्रीपुर–दमौती–बुजोकान्ला–लालपत्ते–पात्ले सडकलाई ५ करोड रकमान्तर भएको छ । सबैभन्दा धेरै बजेट रकमान्तर गरेर भौतिक पूर्वाधार विकास कार्यालय झापा मार्फत खर्च गर्ने गरी रकमान्तर गरिएको छ।

झापा कार्यालय मार्फत ८ वटा योजनामा १८ करोड ५० लाख रकमान्तर भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, भद्रपुर–ज्यामिरगढी धुलावारी गुजाबस्ती (धुलावारी–ईरौँटार) सडकलाई ३ करोड (एमाले नेता गोपाल बुढाथोकीको निर्वाचन क्षेत्र), सत्ताक्षीधाम–झिलझले–हबल्दार चोेक–चौँरी हुँदै होक्लावारी सडक १ करोड (कृषि मन्त्री झलकसिंह दर्लामीको निर्वाचन क्षेत्र), दुर्गापुर–दानावारीदेखि इलाम जाने सडकलाई ३ करोड हालिएको छ। सहिद मेम मगर मार्ग हल्दिवारी २ लाई २ करोड रकम माओवादी सांसद पुर्णसिंह राजबंशीलाई लक्षित गरी रकमान्तर गरेको पाइएको छ । ढुकुरपानी शान्तिचोक गोलाटार हुँदै महेशचोक मोरङ जोड्ने सडकलाई १ करोड ५० लाख बजेट रकमान्तर भएको छ ।

त्यस्तै प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्ग्वाले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटन सडकको नाममा ६ करोड पार्न सफल भएकी छिन् । इलाम बजार सन्दकपुर पर्यटकीय सडकमा ३ करोडको दरका २ वटा योजना परेको मन्त्रालयले जनाएको छ। देउराली फलाँटे गजुरमुखी ईभाङ खण्डमा ३ करोड हालिएको छ । यो निर्वाचन क्षेत्र नेकपा माओवादीका निवर्तमान सांसद धिरेन्द्र शर्माको क्षेत्र हो ।

दुई मन्त्रीलाई २० करोड
भौतिक पूर्वाधार विकास कार्यालय मोरङ मार्फत खर्च गर्ने गरी विराटनगर महानगरपालिकाको चक्रपथ निर्माणलाई १० करोड, लेटाङ–६ नम्बर बुधबारे सडकलाई १० करोड, घिनाघाट–विराटचोक सडकखण्डलाई ४ करोड रकम समेत गरी चालु आर्थिक वर्ष २०७९÷०८० को निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकमान्तर भएको छ ।

विराटनगर चक्रपथको लागि पूर्व मन्त्री केदार कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा पर्नेगरि चक्रमथ निर्माणमा १० करोड, लेटाङ–बुधबारे सडकमा बजेट रकमान्तर हुँदाका सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरेले आफ्नो क्षेत्रमा १० करोड आफ्नो निर्वाचन क्षेत्रमा रकमान्तर गराएका छन् । विराटनगर महानगरपालिकाको चक्रपथ क्षेत्र कार्कीको क्षेत्र हो भनेँ लेटाङ–४ नम्बर बुधबारे घिमिरेले जितेको क्षेत्रमा पर्छ । कार्की अहिलेका निर्वाचित सांसद हुन भने घिमिरे निर्वाचनबाट पराजित भएका छन् । सुनसरीको इनरुवा–दुहवी सडकको लागि १० करोड बजेट निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेटबाट हालिएको छ । यो सडकलाई बजेट हाल्नकोलागि तत्कालीन नेपाली कांग्रेस संसदीय दलका राजीव कोइरालाले बजेट हाल्न सरकारसँग माग गर्दै आएका थिए । गठबन्धनको सरकार भएको बेला यो सडकमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट रकमान्तर गरेर बजेट हालिएको छ ।

पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई निर्वाचनको आचारसंहिता लागेको बेलामा रकमान्तर गरेको भन्दै आरोप लाग्दै आएको छ । निर्वाचित जनप्रतिनिधिलाई थाहै नदिई निर्वाचन क्षेत्रको रकम मनपरी आफ्ना नेता तथा मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पारेको भन्दै प्रदेश सभामा आलोचना हुँदै आएको थियो । माग गरिएको सूचनामा समेत सूचना लुकाएर विवरण उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *