उपप्रधानमन्त्री श्रेष्ठ गरे सडक अनुगमन


काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीय जनताको विरोधका कारण काठमाडौँ उपत्यकास्थित केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरेका हुन् । सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकन भ्रमणमा आएको उनले स्पष्ट पारे ।
उनले नेपाल खानेपानी संस्थान तथा विद्युत् प्राधिकरणको मर्मतसम्भारसम्बन्धी काम, मुद्दा मामिला र स्थानीय जनताको अवरोधका कारण तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुन नसकेको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग छुट्टाछुट्टै छलफल गरी जनचाहनाबमोजिम यथासक्दो छिटो सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे ।
स्थानीय जनताले सडक सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन उपप्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । स्थलगत अवलोकनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण प्रमुख अर्जुन अर्याल तथा काठमाडौँ र ललितपुर जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख सहभागी थिए ।
