गण्डकीको आर्थिक वृद्धिदर ६ प्रतिशत नाघ्यो

पोखरा । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा बढी भएको छ । प्रदेश नीति तथा योजना आयोगका अनुसार अहिले गण्डकीको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको हो । कोरोना र त्यसपछिका राजनीतिक घटनाक्रमले निरन्तर ओरालो लागेको आर्थिक वृद्धिदर केही बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षसम्म १० प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर त्यो पूरा नहुने प्रथम पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाले किटान गरिसकेको छ ।

यसैबीच, गण्डकीमा बेरोजगारी सङ्ख्या पनि बढेको देखाएको छ । प्रदेशमा १५ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशत युवा बेरोजगार रहेको आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले बताए । गण्डकीले दिगो विकास लक्ष प्राप्तिको प्रगति समीक्षा गरेको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा दिगो विकासको कार्यान्वयन अनुगमन र मूल्यांकनका सम्बन्धमा भएको संस्थागत व्यवस्थाबारे जानकारी गराइएको शर्माले सुनाए ।

प्रदेशका ८५ वटै पालिकालाई समन्वय, अनुगमन र मूल्यांकन गरेर प्रतिवेदन पठाउन अनुरोध गर्ने निर्णय भएको छ । दिगो विकासका सूचकहरू गरिबी, भोकमरी, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर, लैङ्गिक  समानता, स्वच्छ पानी र सरसफाइलाई जिम्मेवारी लिई कार्यान्वयन गर्ने निर्णय भएको शर्माको भनाइ छ ।

मुख्यमन्त्री खगराज अधिकारीले दिगो विकास लक्ष्यले देखाएका विषय र प्रदेशका योजनाको व्यवहारिक कार्यान्वयनको पाटो एउटै हुनुपर्ने बताए । उनले आवश्यकताका आधारमा योजनाहरूको प्राथमिकीकरण गरिनुपर्ने र कार्यान्वयन चुस्त बनाउनुपर्ने बताए । कोरोनाकालमा यहाँको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा तल झरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *