‘आधा शिर उचालेर’ कविता सङ्ग्रह माथि विमर्श

विराटनगर । कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कविता सङ्ग्रहमाथि विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कविता सङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कविता सङ्ग्रह पठनीय भएको बताए । कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा समालोचक समेत रहेका सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही भएर कविता रचना गरेकाले जीवन, समाज र प्रकृतिलाई सुन्दर रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गरिन् । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको दाबी गरे ।

कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रह भित्रका कविता वाचन गरेका थिए ।

कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कविता सङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको प्रस्ट पारिन् । उनले सङ्ग्रहबाट कवितासमेत वाचन गरेकी थिइन्। सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३४ वटा कविताहरु संग्रहित छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *