मन्त्रीसँग कास्कीका कैदीको गुनासो- ‘क्षमताभन्दा धेरै बस्नुपर्छ, सुत्ने ठाउँ छैन’

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री रोशनबहादुर गाहा थापाले कास्की कारागारलाई २० लाख दिने घोषणा गरेका छन् ।

प्रदेशमा आन्तरिक मामिला मन्त्रालय भएपनि सुरक्षाको पूर्ण जिम्मेवारी भने प्रदेशमा आइसकेको छैन । प्रदेश प्रहरी ऐन बनेको छ । तर प्रहरी समायोजन भएको छैन । पटक-पटक प्रहरी समायोजनका लागि प्रदेश सरकारले आग्रह गरेपनि संघले सुनेको छैन ।

तर प्रदेशका मन्त्रीहरूले शान्ति सुरक्षा र कारागारमा अनुगमन गर्दै आएका छन् । मन्त्री थापाले सोमबार कास्की कारागारको निरीक्षण गरी २० लाख तत्कालै निकासा दिने बताएका हुन् । उक्त रकम कारागारको भौतिक संरचनाको मर्मतका लागि खर्च गर्न उनले भनेका छन् । त्यसबाहेक कारागारमा खेलकुदका सामग्री र लाइब्रेरीका लागि पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सचिव बद्रीनाथ अधिकारीले कारागार भित्रका समस्या लिखित रूपमा टिपेर प्रदेशसँग बजेट माग गर्न जेलरसँग माग गरेका छन् । कारागार प्रमुख भीमराज कोइरालाले कच्चा पदार्थ पाए भौतिक पूर्वाधार निर्माणमा कैदीलाई परिचालन गर्ने बताएका छन् । ‘हामीलाई गिटी, बालुवा र निर्माण सामग्री भए पुग्छ । जनशक्ति चाहिँदैन,’ उनले भने, ‘कारागारमै रहेका कैदीहरू काम गर्न सक्षम छन् । उनीहरूलाई परिचालन गर्न सकिन्छ ।’

कारागार अवलोकनको क्रममा कैदीहरूले कारागारको क्षमता भन्दा बढी कैदी बस्नुपर्दा समस्या भइरहेको गुनासो गरे । कास्की कारागारमा महिला कैदीका लागि छुट्टै ब्लक र पुरुषका लागि २ वटा ब्लक छन् । कास्की कारागारमा हाल ४५ महिला र ६ आश्रित नाबालिग तथा ६ सय ९४ पुरुष गरी कुल ७ सय ४५  कैदी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *