त्रिशूली ग्राउण्ड जीरो : पाखैभरी अवैध ढुंगा, पालिकाले ठेक्का लगाएपछि विरोध

पोखरा । पालिकाले ठेक्का लगाएको ढुंगा, गिटी, बालुवाको निकासीका लागि त्रिशूली थुनेर बाटो बनाएको समाचार भाइरल भएपछि अहिले उत्खनन रोकिएको छ । गोरखाको शहीद लखन गाउँपालिकाले आन्तरिक आम्दानी बढाउनका लागि त्रिशूलीको घाट ठेक्का लगाएको हो । तर ठेकेदारले सम्झौता विपरीतको काम गरेपछि आइतबार उत्खनन रोक्न अध्यक्ष रमेशबाबु थापा मगरले निर्देशन दिएका हुन् ।

उत्खनन रोकिएसँगै पालिकाको प्राविधिक र प्रहरी समेतको टोलीले आइतबार नै स्थलगत अध्ययन गरेको छ । अध्ययनका क्रममा पाखैभरी केही व्यवसायीले ढुंगा र बालुवा थुपारेको फेला परेको शहीद लखन गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ ठेउवाटारमा लुकाइ राखेको अवस्थामा ९ सय घनमिटर ढुंगा र ६ सय घनमिटर बालुवा भेटिएको हो ।

स्थानीय मोहन रानाको आर्थिक लगानीमा ढुंगा संकलन भएको भेटिएको छ । उनी त्यहाँको रिसोर्ट सञ्चालक पनि हुन् । बालुवा भने सुनिल गुरुङले थुपारेका हुन् । प्रतिटीप ढुंगा ल्याउँदा ट्याक्टरलाई ३ हजारका दरले तिरेको रानाले बताएका छन् । ‘मैले ३ हजारका दरले प्रत्येक टीपको रकम तिरेको छु,’ उनले भने, ‘पालिकामा राजश्व ट्याक्टरवालाले तिर्नुपर्छ ।’

स्थानीयहरूले भने रिसोर्ट निर्माणका लागि ढुंगा थुपारेको बताएका छन् । बालुवा थुपार्ने गुरुङ पनि इको भिलेज कम्पनीका सञ्चालक हुन् । मोहन रानाको समूहले ढुंगा उठाउन थालेपछि आफूहरूले बालुवा निकालेको कर्मचारीहरूले स्वीकारेका छन् । राजश्व छली गरी नदी दोहन गरेको सूचना पाएपछि पालिकाले अनुगमन गरेको हो ।

आइतबार नै स्थानीय समेतको उपस्थितिमा अबै थुपारिएको सामग्रीको मुचुल्का गरिएको छ । पालिकाका इन्जिनियर मेघनाथ यादवले मुचुल्का गरिएको सामग्रीलाई पालिकाको मातहत ल्याउन प्रक्रिया अघि बढिसकेको बताए । श्रोतका अनुसार उनीहरूले अवैध ढुंगा, बालुवा निकाल्न नपाएपछि पालिकाले लगाएको ठेक्कामा उल्झन निकालेका हुन् ।

यो पनि : नदीजन्य सामग्री सप्लाई गर्न ठेकेदारले थुने त्रिशूली नदी, पालिकाले रोकिदियो ठेक्का

‘नदी नै थुन्ने कुरा त राम्रो भएन । तर नदी नथुनेको बेलामा पनि धेरै उल्झन बेहोर्नुपरेको थियो,’ एक स्थानीयले भने, ‘पहिले सँधैजसो अवैध रूपमा यहाँको ढुंगा, गिटी बालुवा थुपारेर बिक्री गरेको हामीले नै देखेका हौँ । अहिले ठेक्कामा गएपछि आफूले कमाउन पाइँदैन भनेर विरोध गरिएको हो ।’ त्यस क्षेत्र र्‍याफ्टिङको लागि बहुचर्चित छ । अहिले पर्यटकीय होटल र रेष्टुरेण्टहरु पनि खुलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *