किसानलाई जंगली जनावर नियन्त्रण गर्न तारजाली

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले कृषकहरुलाई तारजाली वितरण गरेको छ । बाँदर, बदेल, लगायतका जंगली जनावर धपाउनको लागि कृषकलाई तारजाली वितरण गरिएको हो ।
पाणिनी गाउँपालिका वडा नम्बर– ६ को ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १ सय मिटर लम्बाई भएको जाली कृषकलाई वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
व्यवसायिक कृषि गर्ने ४६ कृषकलाई ९८ सय मिटर तारजाली वितरण गरिएको हो । बाँदर, बदेललगायतका जगंली जनावरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गरेपछि कृषकहरु हैरानी भएका थिए । तारजाली पाएपछि समस्याको समाधान गर्न सकिने कृषकहरुको विश्वास छ ।
चालु आर्थिक वर्षमा वडा कार्यालयले ४ लाख रुपैंयाँ विनियोजन गरेर जंगली जनावर तथा बाँदर नियन्त्रणका लागि तारजाली वितरण गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । नेपालमै नमुना प्रकृतिको कार्यक्रम भएकाले ३ वर्ष अगाडिदेखि अभ्यासमा आएकाले बाँदर तथा जंगली जनावर नियन्त्रणका लागी तारजाली निकै प्रभावकारी हुने गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।








