कोशी अस्पतालमा इमरजेन्सीका बिरामीको वर्गीकरण गरेर उपचार हुने

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालले अब उपचार गर्न आउने बिरामीहरूको अवस्था वर्गीकरण गरेर उपचार गर्ने भएको छ । इमरजेन्सीमा हुने भिडले उपचार प्रभावकारी नभएको गुनासोका आधारमा कोशी अस्पतालले बिरामीको प्राथमिकताको आधारमा उपचार गर्न लागेको हो ।

विराटनगरमा संवाद समूहले आयोजना गरेको संवादको क्रममा कोशी अस्पतालको इमरजेन्सी सेवालाई प्रभावकारी बनाउनको लागि बिरामीको वर्गीकरण गरेर उपचार गर्न लागिएको जानकारी दिइएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहले कोशी अस्पतालको इमरजेन्सीलाई प्रभावकारी बनाउने काम शुरु भएको बताए । ‘इमरजेन्सीमा आएर उपचार गराउने बिरामीहरूलाई वर्गीकरण नगर्दा उपचारमा समस्या भएको थियो,’ उनले भने, ‘अब बिरामीको अवस्थाका आधारमा रेड जोन, एल्लो जोन र ग्रिन जोनको गरी बेडको विभाजन गरिएको छ, त्यसको आधारमा बिरामी कुन जोनमा पर्छ त्यसलाई प्राथमिकतामा राखिने छ ।’

इमरजेन्सी राउण्डको समयमा डाक्टर ढिला आउने समस्यालाई समाधान गरिने भएको छ । सिंहका अनुसार राउण्ड लिँदा पहिला इमरजेन्सीबाट शुरु गरेर वार्डमा जाने वातावरण बनाउनेबारेमा छलफल भईरहेको छ। इमरजेन्सीमा हुने फोहोर व्यवस्थापनको काम प्रभावकारी बनाउनको लागि बाहिरी वातावरण सरसफाइको काम भईरहेको समेत कार्यक्रममा सहभागी कर्मचारीहरूले बताएका छन् ।

इमरजेन्सी विभाग इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादवले कोशी अस्पतालको इमरजेन्सी सुधारको लागि अहिले काम भईरहेको बताए । ‘कम जनशक्तिका बिचमा पनि हामी काम गरिरहेका छौँ,’ उनले भने, ‘पछिल्लो समय इमरजेन्सीमा पाँच वटा मोनिटर थपिएको छ, सरसफाइमा सेडियुल बढाइएको छ ।’ उनले सामान्य बिरामीलाई सामान्य अवस्थामा परीक्षण, कम गम्भीर खालका बिरामीलाई त्यही अनुसारको व्यवस्थापन र अलिक गम्भीर प्रकारका बिरामीलाई रेडजोनमा राखेर उपचार हुन थालेको यादवले जानकारी दिए ।

इमरजेन्सी विभागमा कार्यरत कर्मचारी अहेव टिका भण्डारीले कोशी अस्पतालमा आएका बिरामीहरू उपचारको लागि भौतारीनु पर्ने खालको अवस्थालाई व्यवस्थित गर्नु अहिलेको चुनौती भएको सुनाए । ओपिडीमा उपचार गर्न आएका बिरामीहरू पनि इमरजेन्सीमा आएर पुर्जा काटिदिनु पर्‍यो भनेर दबाब दिने गरेको उनको भनाई छ । ‘ओपिडीका व्यक्तिहरू लाइन लागेर पुर्जा काट्नु पर्नेमा इमरजेन्सीमा आएर दबाब दिने गर्छन्,’ उनले भने, ‘यस्ता खालका दबाबका कारण हामीलाई गम्भीर खालका बिरामीलाई हेर्न भन्दा सामान्य बिरामीको दबाबले अलमल्याउने गरेको छ।’ अब बिरामीको वर्गीकरणसँगै गम्भीर, कम र सामान्य खालको भनेर वर्गीकरण गरिँदा काम गर्न सजिलो हुने उनको भनाई छ।

इमरजेन्सीमा पहिला र अहिलेकोमा धेरै परिवर्तन भएको कर्मचारीको भनाई छ। इमरजेन्सीको सुधारको प्रशस्त काम भएको कोशी अस्पतालका अहेव कामेश्वर परिहस्तले जानकारी दिए । ‘भएको जनशक्तिबाट काम भएको छ,’ उनले भने, ‘अहिले पनि हामी दैनिक ३ सय जनासम्मको सेवा दिई रहेका छौँ ।’ बेडको क्षमता कम बिरामीको सङ्ख्या धेरै हुँदा व्यवस्थापनमा समस्या हुने गरेको छ । कतिपय बिरामीहरू एक हप्तासम्म बेडमा बसिदिँदा पनि बेडको अभाव हुने गरेको उनको भनाई छ । ‘अहिले ३५ जनाको टिमले काम गरिरहेको छ,’ उनले भने, ‘सबै मिलेर समन्वय गरेर काम गरेका छौँ, इमरजेन्सीमा अहिले देखिएको समस्या एक महिना पछि हेर्न आउँदा ९९ प्रतिशत सुधार गरेर देखाउँछौँ ।’

इमरजेन्सीमा आएको सरसफाइ सम्बन्धी समस्यालाई समाधान गर्न बाहिरी वातावरणलाई सफा राख्ने अभियान थालिएको कर्मचारीले बताएका छन् । सरसफाइ अभियान चलाइएकोले बाहिरी वातावरणले भित्री वातावरण सफा हुने, इमरजेन्सीबाट निस्किएको फोहोर मैलामा गुनासो आउन नदिने उनीहरूको भनाई छ।

इमरजेन्सीमा देखिएको समस्यालाई आगामी दिनमा प्रक्रियागत सुधार गरेर जाने, चैत मसान्त भित्रमा पोर्टेबल एक्स-रे मेसिन इमरजेन्सीमा राख्ने व्यवस्था मिलाउने, इमरजेन्सी ओटी नहुँदा बिरामीले दुख पाउने गरेको समस्यालाई समाधान गर्न इमरजेन्सी ओटीको व्यवस्था गर्न समन्वय गरेर जाने कर्मचारीको भनाई छ । कर्मचारीहरूले अस्पतालको सुधारमा नागरिक समाज, राजनीतिक दल र अन्य सरोकारवालाले साथ दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *