आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरूको रिले अनसन


काठमाडौँ। त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरूले रिले अनसन सुरु गरेका छन्।
बिएएमएस इन्टर्न प्रशिक्षार्थीले पनि स्ववियु निर्वाचनमा मतदान गर्न पाउनुपर्छ भन्ने माग उठाएर अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतले फागुन २५ बिहीबार तालाबन्दी गरेपछि राति ८ बजे निर्वाचन समितिले कार्यालयको कोठामा लगाएको तालाका कारण देखाउँदै पूर्व घोषित निर्वाचनको कार्यक्रम अगाडी बढाउन नसकेको सूचना प्रकाशित गरेको थियो।
स्थगित भएको स्ववियु निर्वाचनको सुनिश्चितताको लागि दबाबमूलक कार्यक्रम गर्न आज शुक्रवार वाट नेविसंघ समर्थित विद्यार्थीहरू इन्द्रमणि बस्याल र आशिष् अर्यालले अनसन सुरु गरेका छन्।
अनसनरत विद्यार्थी इन्द्रमणि बस्याल भन्छन्, “हामीले पूर्वनिर्धारित तालिका बमोजिम स्ववियुको निर्वाचन होस् भन्ने एकसुत्रिय माग राखेर रिले अनसन सुरु गरेका हौँ। निर्वाचन आचारसंहिता बमोजिम क्याम्पसमा बन्द हडताल गर्न नपाइने र त्यसो भए निर्वाचन समितिले हटाउन पाउने अधिकार हुँदा पनि समितिले निर्वाचन स्थगित गरेको कारण अनसन बस्न बाध्य भएका हौ।”
त्रिविले यस पटक निर्वाचन निर्देशिका बमोजिम अन्तिम परीक्षामा सामेल भएका विद्यार्थी स्ववियु निर्वाचनमा सामेल हुन नपाउने नयाँ व्यवस्था गरेको छ । इन्टरर्न प्रशिक्षार्थीले अन्तिम परीक्षा उत्तीर्ण गरिसकेको हुनाले महाराजगन्ज मेडिकल क्याम्पसमा पनि एमबिबिएसका इन्टर्न प्रशिक्षार्थीले यस पटकको स्ववियुमा मतदान गर्न पाउने छैनन्।
