नवनिर्वाचित राष्ट्रपति पौडेलको सुरक्षामा सेना खटियो, सोमबारदेखि थप बढाउने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आजैदेखि नेपाली सेनाले सुरक्षा दिन थालेको छ। सपथग्रहणपछि मात्रै पौडेलले औपचारिक सुविधा पाउने भएपनि निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेलगतै नेपाली सेनाले सहसेनानीको नेतृत्वमा सुरक्षा दिन थालेको हो।

पौडेलको सवारीमा र निवासमा पनि बिहीबार साँझबाट सेना खटिएको छ। पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आफ्नै निवास बोहराटार फर्किएका छन्। तर उनी निर्वाचित भएको घोषणा लगतै सेनाको टोली उनको निजी निवासमा पुगिसकेको थियो।

पौडेलले आगामी सोमबार मात्रै सपथग्रहण गर्नेछन्। राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष सपथग्रहण गर्नुपर्छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपतिलाई सपथ गराउनेछन्।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पनि त्यसै दिन सकिँदैछ। त्यसपछि उनले शीतलनिवास छाड्नेछिन् भने सपथलिएसँगै पौडेल शीतलनिवास प्रवेश गर्नेछन्। राष्ट्रपति कार्यालयले पौडेलको स्वागत र भण्डारीको विदाइको तयारी गरिसकेको छ। भण्डारीका लागि यसअघिबाटै निवास तयार गरिएको छ।

‘अहिलेलाई आवश्यकता अनुसार वासस्थानमा र सवारीमा सुरक्षा दिएका छौं। सपथग्रहणसँगै पूर्ण रुपमा सुरक्षा थपिन्छ’, सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने।

यसअघि पौडेलको सुरक्षामा केही प्रहरी र सशस्त्र प्रहरीमात्रै खटिएका थिए। यस्तै नवनिर्वाचित राष्ट्रपतिको सुरक्षामा नेपाल प्रहरीले पनि सुरक्षा बढाएको छ। गृहमन्त्रालयले बिहीबार साँझ अगुवापछुवासहितको गाडी पठाएको छ।

सुरक्षाकर्मी पनि बढाइएको छ। तर राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत रहने भएकाले मुख्य गरी नेपाली सेनाले नै सुरक्षा दिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =