कुकुरलाई ‘रेबिज खोप’ लगाएको छ वा छैन कसरी थाहा पाउने ?

काठमाडौँ । कुकुर घरपालुवा जनावर मात्र होइन, मानवजातिको सबैभन्दा मिल्ने साथी पनि हो । आजभोलिका मानिस कुकुरलाई परिवारको सदस्य जस्तै गरी माया गर्छन् । कहिलेकाहीँ मोटरसाइकलमा यात्रा गर्दा, साथी वा आफन्तको घरमा जाँदा, हतारले दौडदा र राती एक्लै हिँड्दा कुकुरका कारण समस्या पर्ने गर्दछ ।

कुकुरको टोकाइबाट रेबिज लाग्ने हुँदा कुकुरको टोकाइलाई सामान्य रुपमा लिनु हुँदैन । रेबिज एउटा यस्तो रोग हो, जुन रोग लागेपछि बिरामीको मृत्यु नै हुन्छ । रेबिजको उपचार हालसम्म पत्ता लागेको देखिँदैन । त्यसैले कुकुरबाट सावधान रहनु आवश्यक देखिन्छ । यसका लागि कुकुरको टोकाइबाट बच्नु पर्दछ ।

कुकुरले टोक्दा प्राथमिक उपचार कसरी गर्ने ?
कहिलेकाहीँ सावधानी अपनाउँदा पनि कुकुरले झम्टन वा टोक्न सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुकुरले टोक्नेवित्तिकै सबैभन्दा पहिले टोकेको घाउमा साबुन–पानीले सफा गर्नुपर्छ ।

त्यस्तो समयमा कुकुरलाई रेबिजविरुद्धको खोप दिइसकेको छ वा छैन भनी थाहा पाउन पनि उत्तिकै आवश्यक हुन्छ । यदी छैन भने सकेसम्म छिटो अस्पताल जानु पर्दछ ।

सामूदायिक कुकुरलाई कसले रेबिजको खोप लगाइदिन्छ ?
यदि कोही व्यक्तिलाई घरपालुवा कुकुरले टोक्दा घरमालिकलाई सोधेर कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ/छैन भनेर थाहा पाउन सकिन्छ भने सामूदायिक कुकुरले टोकेको अवस्थामा थाहा पाउन ग्राह्रो हुन्छ ।

पशु कल्याण संघका अध्यक्ष स्नेहा श्रेष्ठका अनुसार घरपालुवा कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाउने जिम्मा घरधनीलाई हुन्छ भने सामूदायिक कुकुरलाई खोप लगाउने जिम्मेवारी स्थानीय निकायको हुन्छ । उनका अनुसार स्थानीय निकायले नै सामूदायिक कुकुरलाई रेबिजविरुद्धको खोप दिने गरेका छन् ।

सामूदायिक कुकुरलाई रेबिजको खोप लगाएको छ/छैन भन्ने कसरी थाहा पाउने ?

पशु कल्याण संघसँस्था खोपले लगाइदिँदा : स्थानीय निकाय र विभिन्न पशु अधिकारवादी संघसंस्थाले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप दिने गरेका छन् । पशुको हेरचाह र संरक्षणका लागि काम गर्ने संघसंस्थाले विभिन्न नगरपालिकासँग समन्वय गरेर खोप दिइरहेका छन् । पशु कल्याण संघका अध्ययक्ष स्नेहा श्रेष्ठ भन्छिन्, ‘विभिन्न नगरपालिकासँग समन्वय गरेर हामीले सामूदायिक कुकुर लाई खोप दिइरहेका छौँ ।’

उनका अनुसार पशु कल्याण संघले कुकुरलाई खोप लगाइदिदाँ अनलाईन एपको प्रयोग गर्ने गरिएको छ । उक्त एपमार्फत कुनकुन स्थानमा कुकुरलाई खोप लगाइएको छ भनेर थाहा पाउन सकिन्छ । यसरी एपमा उल्लेखित स्थानमा भएका सामूदायिक कुकुरलाई खोप लगाएको वा नलगाएको भनेर छुट्याउन सकिन्छ ।

उनले अन्य संघ र स्थानीय सरकारले के–कसरी खोप दिइरहेको छ भन्नेबारे आफूलाई केही जानकारी नभएको बताइन् ।

स्थानीय सरकारले खोप लगाइदिँदा : पशुस्वास्थ विभागका प्रमुख डा. अवधेश झाका अनुुसार कुकुरलाई हरेक वर्ष रेबिजविरुद्धको खोप दिइनुपर्छ । उनका अनुसार खोप वर्षैपिच्छे दिइने भएकाले स्थायी रुपमा चिनो लगाउन सकिँदैन । उनी भन्छन्, ‘हामीले एभ्री इयर खोप दिने भएकाले परमानेन्ट मार्किङ्ग गर्न सक्दैनौँ ।’

डा. झाले पशु स्वास्थ्य विभाग सामूदायिक कुकुरलाई खोप दिन प्रत्येक वडा–वडामा पुग्ने गरेको बताएण् छन् । उनका अनुसार खोप लगाइसकेका कुकुरका शरीरमा हरियो रंग लगाइन्छ । वडामा खोप लगाउने काम नसकेसम्म हरियो रंगलाई चिनोको रुपमा प्रयोग गरिन्छ । भन्छन्, ‘वडामा भ्याक्सिन लगाएको कुकुरलाई जीउमा हरियो रंग लगाइदिन्छौँ । ताकी हामीले त्यो वडा नसकुन्जेलसम्म हरियो रंग नजाओस् ।’
पशु स्वास्थ्य विभागले खोप लगाइएका कुकुरलाई मार्किङ गर्न बसमा प्रयोग गरिने रंगको प्रयोग गर्ने गरेको छ । उक्त रङ्ग बजारमा खसीलाई अनुगमन गर्दा पनि सिङमा लगाइन्छ । वडामा सम्पूर्ण कुकुरलाई रंग्याइसकेपछि खोप लगाउने गरिएको डा. झा बताउँछन् ।

स्वविवेकको प्रयोग गर्ने
स्थानीय सरकार र विभिन्न पशु स्वास्थ्य संघले सामूदायिक कुकुरलाई खोप लगाएको सूचना आ–आफ्नै तरिकाले सम्प्रेषण गर्ने गरेका छन् । उक्त तरिका विश्वसनीय र भरपर्दा देखिँदैनन् । त्यसकारण कुकुरले टोक्नेबित्तिकै उक्त कुकुरलाई खोप लगाएको हो वा नलगाएको निश्चित गर्नु पर्दछ । यदी कुनै शंका भएमा तत्कालै अस्पताल जानुपर्छ । अस्पताल गएर रेबिज इम्युनोग्लोबिन खोप लगाएमा रेबिजबाट बच्न सकिन्छ ।

डा. अवदेश झाका अनुसार सबै व्यक्तिलाई रेबिजविरुद्धको खोप आवश्यक्ता पर्दैन । यदी कोही व्यक्ति कुकुरले टोकेको १० दिनपछि आएको छ र कुकुर पनि स्वस्थ छ भने खोपको आवश्यक्ता नपर्ने उनी बताउँछन् । तर टोक्ने बित्तिकै कुकुर देखिएन, कुकुर कतै भाग्यो वा भेटिएन भने खोप लगाउन सुझाव दिने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *