बसन्तपुरमा होलीको रौनक (तस्बिरहरु)

काठमाडौँ । फागुपूर्णिमा (होली) पर्वको अवसरमा काठमाडौँको बसन्तपुरमा सोमबार होली खेल्नेहरुको विशेष रौनक देखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमहरु समय बसन्तपुरमा आयोजना भइरहेका छन् । त्यस्तै, विदेशी पर्यटकहरुसमेत होलीमा रमाइरहेको देखिन्छ । विगतका वर्षहरुमा केही आक्रामक र असभ्य देखिएपछि पछिल्ला वर्ष होली पर्व सभ्य र मनोरञ्जनको पर्व बन्दै आएको छ । जबरजस्ती फागु दल्ने र रंग छ्याप्ने प्रचलन विस्तारै कम हुँदै गएको छ । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि विशेषगरी काठमाडौँमा फागु पर्व सुरु हुने गरेको छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *