ओलीको बोली झुटो : सरकार प्रवक्ता शर्मा

सरकारले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिको खण्डन गरेकी हुन्।
सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई अनुमति दिएको ओलीले आरोप लगाएका थिए। तर सरकारले यस सम्बन्धमा कुनै निर्णय नगरेको प्रस्ट पारेको छ।
सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाएको छ।
शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद भएको बताएकी छन्।
‘परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइनु’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ।’
एमाले अध्यक्ष ओलीले शनिबार मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप लगाएका थिए।
मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ ओलीले भनेका थिए।
तर सरकारले ओलीको बोली झुट भएको दाबी गरेको छ। यस सम्बन्धमा थप छानविन गरेर सत्य तथ्य बाहिर लाउने पनि मन्त्री शर्माले बताएकी छन्।









