काठमाडौँमै यात्रु ठगी, बढी भाडा असुल्ने ५ चालक पक्राउ

काठमाडौँ । यात्रुबाट बढी भाडा असुल्ने ५ चालक पक्राउ परेका छन् । यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने ५ जनालाई बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउन्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी रहेका छन् ।
गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
चाडपर्व (फागु)को अवसर पारेर काठमाडौँबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउन्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको जनगुनासो आए पश्चात् यस कार्यालयबाट सादा पोसाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ ।








