मन्त्री यादवले गरे मुसहरी टोलको सामुदायिक विद्यालय निरीक्षण

विद्यार्थीले भने, ‘आज दिवा खाजा दिइएन’

जनकपुरधाम । मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले आधारभूत शिक्षालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सामुदायिक विद्यालयहरूलाई सबल बनाउनुपर्ने बताएका छन् । धनुषाको धनौजी गाउँपालिका–४ भररिया बीचलाटोल मुसहरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय र सोही गाउँपालिका–३ झोझिकटैयास्थित मदरसा गुलसने राजा शुक्रबार निरीक्षण गर्दै मन्त्री यादवले आधारभूत शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन आवश्यक रहेको औँल्याए । उनले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने उल्लेख गरे ।

मन्त्री यादवले मदरसा शिक्षाका माध्यमले समेत बालबालिकाहरू शिक्षार्जनको मूलप्रवाहमा समाहित हुन आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मदरसा सञ्चालन गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । धनौजी गाउँपालिका–४ भररिया बीचलाटोल मुसहरीस्थित विद्यालयमा पठनपाठन गरिरहेका बालबालिकासँग कुराकानी गर्न मन्त्री यादव अचानक पुगेका थिए । मन्त्री यादवले त्यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूसँग पठनपाठनको स्थिति, शैक्षिक सामग्रीको उपलब्धता र दिवाखाजा आदिका विषयमा सोधपुछ गरेका थिए । त्यसलगत्तै मन्त्री यादवले विद्यालयका शिक्षक तथा कर्मचारीहरूसँग पठनपाठनमा उत्पन्न हुने कठिनाइ र तिनका समाधानका विषयमा जिज्ञासा राखेका थिए । दलित विद्यार्थीको बहुलता रहेको त्यस विद्यालयमा सेवा क्षेत्रका बालबालिकाहरू भर्ना भए पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइ छाड्ने गरेका छन् भने विद्यार्थीका लागि आवश्यक सङ्ख्यामा डेस्कबेन्च छैनन् । विद्यालयमा शिक्षक अभावसमेत छ ।

मन्त्री यादवले निरीक्षण गर्दाका बेला भान्से नआएको भन्दै विद्यार्थीहरूलाई दिवाखाजा खुवाइएको थिएन । मन्त्री यादवले विद्यालयका समस्याका बारेमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार यादवसँग समेत छलफल गरेका छन् । गाउँपालिका कार्यालयमा भएको सो छलफलमा मन्त्री यादवले सामुदायिक विद्यालय हुनेखानेका छोराछोरीका लागि उपयुक्त नभएका र तिनमा विपन्न दलित वा छोरीचेलीहरू मात्र पढ्ने दुर्भाग्यपूर्ण सोच बनेकामा चिन्ता व्यक्त गरे । उनले नियमित तथा गुणस्तरीय शिक्षाको प्रबन्धन गरिएमा त्यस्तो सोचमाथि प्रहार हुने र यसका लागि गाउँपालिका नेतृत्वले पहल गर्नुपर्ने बताए ।

मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए । उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारीसमेत दिए । पालिकामा शिक्षाको स्थितिबारे मन्त्री यादवलाई धनौजी गाउँपालिकाका शिक्षा संयोजक अनिलकुमार साह, सेतो गुराँसकी बालविकास संयोजक अर्चना ठाकुरले जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *