युगान्डाका महिलाको ठमेलमा यौन धन्दा

अफ्रिकी मुलुक युगान्डाका महिला काठमाडौंको ठमेलमा यौन व्यवसायमा संलग्न रहेको खुलेको छ। प्रहरीले जबरजस्ती यौन धन्दामा लगाइएकी एक महिलाको उद्धार गर्दै एक जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकी नताशा भनिने एमाकुलेट नाबासुम्बालाई पक्राउ गरेको छ।
ब्यूरोका प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएर यौन व्यवसायमा लगाएको खुलेको छ।
नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं बोलाएकी थिइन्।
पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होममा बसेर यौन व्यवसाय गर्दै आएकी थिइन्।
नेपालमा झिकाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मुलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको प्रहरीले जनाएको छ।
उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन्।
यसरी दिनकै ५/७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप र यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन्।
बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगिन्। तर नताशाले उनको हवाई टिकट रद्द गरिदिएपछि फर्किनु परेको थियो।
टिकट रद्द गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन्। ब्यूरोमा जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ। ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए।
पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम पनि उनी आफैंले लिने गरेको अनुसन्धानबाट खुलेको छ। उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।
यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ।








