सुदूरपश्चिम प्रदेश

फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा जुटेका छन् । तर मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा माओवादी सहमत भइसकेको छैन ।

गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाँडफाँटमा सहमति हुनुपर्ने अडान राखेको छ । मुख्यमन्त्री शाह माओवादीलाई सहमत गराउन छलफल गरिरहेका छन् । उनी माओवादीलाई सहमतिमा ल्याएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा छन् ।

विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार छन् ।

यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई भने विश्वासको मत दिन तयार रहेको स्रोतले बताएको छ । माओवादी केन्द्रले भने शीर्ष नेतृत्वको निर्णय पर्खेको छ । एमाले नेतृत्वमा बनेको सरकारमा विनाविभागीय मन्त्री रहिसकेका सुदूरपश्चिममा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुङ्ग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा पार्टी रहेको बताए ।

अहिले शीर्ष नेतासँग छलफल गर्न काठमाडौँमा रहेका भट्टले पनि २१ गतेभित्रै प्रदेश सरकारले विश्वासको मत लिने बताएका छन् । प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने उनको भनाइ छ । महत्त्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने लबिङ माओवादी केन्द्रको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *