सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सुडान प्रस्थान

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल अफ्रिकी मुलुक सुडानतर्फ प्रस्थान गरेका छन्। मेडल परेडमा भाग लिन सोमबार आईजीपी अर्याल त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सुडानमा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ। मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग छलफल गर्नेछन्।

मिसन थप गरी बढिभन्दा बढि तल्लो तहका कर्मचारीहरुलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड रहेको छ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए।

मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । सन् २०१६ मा सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसन समेत बन्द भएको छ ।

लामो समयदेखि माली मिसनको चर्चा चलेपनि महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै सो मिसनबारे प्राथमिकता दिई विशेष पहल र चासो राखेपछि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ।

सोमबार सुडान तर्फ प्रस्थान गरेका अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =