धमाधम बन्द हुँदै बालगृह

काठमाडौँ । बाल्यावस्था बालबालिकाले विशेष स्याहार र सहयोग पाउनु पर्ने अवस्था हो । यस अवस्थामा अभिभावकले बालबालिकालाई सहज बाल्यकाल अर्थात् अवसर र सम्भावनालाई बढोत्तरी गर्ने वातावरण तयार गर्ने तथा सबै किसिमका नकारात्मक अनुभवबाट जोगाउने उत्तरदायित्व लिनुपर्दछ ।

आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्थामा नभएका परिवारका बालबालिकालाई राज्यले ‘पालन–प्रथा’को व्यवस्था गरेको छ । यसका लागि सरकारले देशभित्रै धर्मसन्तान हुने जस्ता विकल्प उपलब्ध गराएको छ । परिवारमा हुर्कन नपाउने र विकल्प नभएका बालबालिकालाई राज्यले आवासीय बालगृहको अनुमति दिएको छ ।

आवासीय बालगृह भन्नाले विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह र संरक्षणको लागि नेपाल सरकार, स्थानीय सरकार वा कुनै संस्थाले प्रचलित कानुनअनुसार स्वीकृति लिई स्थापना गरी सञ्चालन गरेको बालगृह हो । यसले बालबालिकाको संस्थागत स्याहार, आवासीय हेरचाह गर्ने काम गर्दछ ।

नेपालमा ३०–४० प्रतिशत बालगृह विदेशी व्यक्ति, संघसंस्था र अनुदानबाट सञ्चालन भएको देखिन्छ । राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार गत वर्ष ४ सय ५४ वटा बालगृह सञ्चालनमा थिए । हाल असार मसान्तसम्म ४ सय १७ वटा बालगृह सञ्चालनमा छन् । राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदन हेर्दा यस वर्ष मात्रै ३७ वटा बालगृह बन्द भएका देखिन्छन् ।

बालगृह बन्द हुनुका कारण उल्लिखत मापदण्ड पूरा नगरेकाले र केही बालगृहका आन्तरिक कारणले नै बन्द भएको चन्द बताउँछन् । उनले भने, ‘केही बालगृहले मापदण्ड पूरा नगरेर हाम्रा परिषद्ले उद्दार ( बालबालिकालाई अन्य बालगृहमा सार्ने र उक्त बालगृहलाई बन्द गर्ने) गरेको छ, केही उनीहरूको आन्तरिक कारणले आफैँ बन्द भएका छन् ।’

चन्दले बन्द भएका बालगृहहरू मध्ये २, ४ वटा बालगृहहरूको मात्र उद्दार गरिएको तर धेरैजसो बालगृह आफ्नै कारणले बन्द भएको बताए ।

राष्ट्रिय बालगृह अधिकार परिषद्ले बालगृह सञ्चालन गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने, बालमैत्री भौतिक पूर्वाधार र संरचनाको व्यवस्था गर्नुपर्ने, भोजन तथा पोषणको व्यवस्था गर्नुपर्ने, आर्थिक स्रोतको व्यवस्था र स्वास्थ्यको ध्यान राख्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने व्यवस्थासहितको मापदण्ड तोकेको छ ।

केही बालगृह बन्द हुनुका कारण

परोपकार बालगृह

केही समयअघि भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको परोपकार बालगृह संस्था बन्द भयो । बालगृहका पूर्व विद्यार्थी राजन चौधरी संस्थालाई व्यवस्थित गर्न नसकेका कारण बन्द भएको बताउँछन् । उनी भन्छन्, ‘सरकारले जग्गा दिए पनि व्यवस्थापन गर्न सकेन, पैसा भए पनि व्यवस्थापन गर्न सकेन, बच्चाहरूले पाउने आर्थिक सुविधा पाएनन् । नयाँ बच्चाहरू पनि आएनन् त्यस कारण बन्द भयो ।’

उनले संस्थाका बालकले राम्रो हेरचाह र सुविधा नपाएर बन्द भएको बताए ।

उनका अनुसार परोपकार संस्था बन्द हुनुअघि वडा अध्यक्षहरू निरीक्षण गर्न आएका थिए । उनीहरूले राम्ररी सञ्चालन नगर्ने हो भने बालगृह बन्द गर्नुपर्ने बताएका थिए । बालगृह सञ्चालकले राम्ररी सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि दुई हप्तापछि बालगृह उही अवस्थामा फर्कियो । अन्त्यमा बालगृह बन्द भयो ।

उनका अनुसार त्यहाँ बाँकी दुई बालक मध्ये एकलाई बालगृहले नै कोठा भाडामा राखेको छ भने एक जनालाई उनकै घरमा पठाइएको छ ।

ओसिआरसी बालगृह

ओसिआरसी बालगृह चाँगुनारायण नगरपालिकामा रहेको बालगृह हो । यस बालगृहले वर्षाैँदेखि बालबालिकाको हेरचाह गर्दै आएको छ । उक्त बालगृह विदेशी अनुदान नपाएर बन्द हुने अवस्थामा रहेको स्थानीयहरू बताउँछन् । तर संस्थाका आधिकारिक कुराहरू बाहिरिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *