मप्रति सबैले सहानुभूति राखे : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार हुन लागेका रामचन्द्र पौडेलले आफूप्रति सबैले सहानुभूति राखेको बताएका छन् । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सबै दल र नागरिकको सद्भाव र सहानुभूति रहेको बताएका हुन् ।
उनले संविधानको रक्षकको भूमिका आफूले पाउन लागेको भन्दै सहयोगका लागि सबैसँग आह्वान गरे । ‘संविधानको संरक्षको भूमिका निर्वाह गर्ने प्रयासमा नेपाली कांग्रेसबाट मैले उमेदवारी दिने मौका पाएको छु । नेपालको संविधानले नेपाली जनतामा अद्वितीय अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौती ममा आउन लागेको छ,’ पौडेलले भने, ‘नेपालको संविधानको रक्षा र नेपाली जनताको अधिकारको रक्षकको भूमिका मैले पाउन लागेको छु । म सबै नेपाली दाजुभाइ, दिदीबहिनीलाई ७० वर्ष लडेर ल्याएका व्यवस्थाको रक्षाका लागि सजग बन्न र सहयोग गर्न आह्वान गर्दछु ।’
बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ ।








