ब्युँतिन लागेकाे पाँचदलीय गठबन्धनमा यसरी हुन सक्छ ‘पावर सेयरिङ’

एकीकृत समाजवादीको भागमा १ वर्ष प्रधानमन्त्री पर्ने गरी छलफल

काठमाडौँ । राष्ट्रपति निर्वाचनको कार्यतालिका सुरु भएसँगै सरकार परिवर्तनको खेल पनि सुरु भएको छ । मंसिर ४ अगाडि भएको पाँच दलीय गठबन्धन ब्युँतिने संकेत गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल अघिल्लाे गठबन्धनकै नेताहरूसँग छलफलमा व्यस्त छन् ।

प्रधानमन्त्री नपाएको झोकमा पाँच दलीय गठबन्धन त्यागेर सात दलीय गठबन्धन निर्माणकाे सूत्रधार बन्न पुगेका प्रचण्डलाई हाल राष्ट्रपति निर्वाचनका लागि फेरि अघिल्लाे पाँच दलीय गठबन्धनकै सहारा चाहिएको छ ।

सात दल र ३ स्वतन्त्र संसदको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई २६ पुसमा देशको ठुलो शक्ति नेपाली कांग्रेस र अन्य साना दलले समेत विश्वासको मत दिएदेखि नै सात दलीय गठबन्धनमा खटपट सुरु भएको थियो । त्यो खटपटलाई एमाले अध्यक्ष ओली र प्रचण्ड स्वयं कति पटक छुट्टाछुट्टै बैठक बसेर मिलाउन खोजे पनि मिल्न सकेकाे देखिएन । एमालेले १० पुसको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने पक्षमा छ ।

हिजो बुधबार दिनभर भएका बैठक र छलफलले आम निर्वाचनताकाको पुरानै गठबन्धन ब्युँताउने अनौपचारिक सहमति गरेकाे कांग्रेस कार्यसम्पादन समितिका एक नेता बताए । बिहीबार विकसित हुँदै गरेका घटनाक्रमले पनि ती नेताकाे भनाइ पुष्टि गर्दै लगेकाे छ ।

स्वयं प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताबीच बाक्लिएकाे भेटघाटले पनि त्यसै तथ्यकाे पुष्टि गरिरहेका छन् ।

कांग्रेस कार्यसम्पादन समितिका ती नेताले भने, ‘आज कुनै नाटकीय परिवर्तन नभए पाँच दलीय गठबन्धन ब्युँझन सक्छ । हामीलाई नागरिक उन्मुक्ति पार्टी र लोसाको पनि साथ रहन सक्छ ।’

हाल दलहरू छुट्टाछुट्टै बैठक बसेर पावर सेयरिङको विषयमा छलफल गरिरहेका छन् । त्यसको औपचारिक खाका तयार भएपछि साँझ पाँच बजे पुनः पाँच दलीय गठबन्धनको बैठक बसेर निर्णय हुने छ ।

अर्को कुरा नेकपा माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीचमा समाजवादी मोर्चा बनेर जाने सम्भावना समेत रहेको जसपाका एक नेता बताउँछन् । ती नेता भन्छन्, ‘छलफल चलिरहेको छ । सायद हुन सक्छ । यसै भन्न सकिएन् ।’

यस्तो हुन सक्छ पावर सेयरिङ

राज्य सञ्चालका मुख्य पदहरूमा पावर सेयरिङबारे बुधबार नै प्ररम्भिक खाका तयार भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पावर सेयरिङ गरेर जाँदा नेपाली कांग्रेसको भागमा राष्ट्रपति र एक वर्षे प्रधानमन्त्रीको जिम्मेवारी आउने सम्भावना छ ।

त्यस्तै नेकपा माओवादीको भागमा ३ वर्षका लागि प्रधानमन्त्री पर्ने छ ।

एकीकृत समाजवादीको भागमा १ वर्ष प्रधानमन्त्री पर्ने गरी छलफल भएको छ ।

अन्य मन्त्रीहरूको सन्दर्भमा भने हालसम्म कुनै छलफल नभएको ती नेताकाे भनाइ छ ।

बुधबार भएको देउवा र प्रधानमन्त्रीको छलफलमा ३ वर्षसम्म प्रधानमन्त्रीमा प्रचण्डलाई यथावत् राख्ने र त्यसपछिको २ वर्ष कांग्रेस र नेकपा ऐसले मिलेर चलाउने छलफल भएको छ ।

ती नेताले भने, ‘प्रचण्डपछि नेपाली कांग्रेसले पहिला प्रधानमन्त्री लिने कि नेकपा एसले लिने भन्ने विषयमा कुरा मिलेको छैन । नेकपा एसले हामीलाई दिनुपर्छ भनिरहनु भएको छ । कांग्रेसलाई राष्ट्रपति भाग लागेपछि उहाँले दाबी गर्नु स्वाभाविक पनि हो ।’

यो सबै कुराको टुङ्गो भरे बिहीबार बेलुका वा शुक्रवारसम्ममा हुने उनले बताए ।

कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे सम्भावना बलियाे रहेकाे कांग्रेसका ती नेताकाे दाबी छ । त्यसपछि कृष्णप्रसाद सिटौलाको चर्चा रहेकाे उनले बताए ।

राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई दिन बाँकी अर्थात् १३ गतेसम्म छ । यसका लागि निर्वाचन आयोगले बुधबार नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ । निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ  ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् । राष्ट्रपति निर्वाचनको लागि संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । तर, संघीय ससंद अन्तर्गत २७५ सदस्सीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्रै कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाताको सङ्ख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *