ओलीले राष्ट्रपतिमा मेराे नाम अघि सारेकाेबारे मलाई जानकारी छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई राष्ट्रपति बन्न ओलीले प्रचण्डलाई बुझाएको प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
बुधवार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका एमाले अधक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको नाम राष्ट्रपतिमा बुझाएको हल्ला आएका छन् ।
यसबारे मकालुखबरले ओलीले राष्ट्रपतिमा तपाइँको नाम प्रधानमन्त्रीलाई बुझाए रे नि भन्ने प्रश्नमा नेपालले भने, ‘मलाई कुनै जानकारी छैन । अहिलेसम्म न एमाले अध्यक्ष ओलीले यो कुरा गरेका छन् । न त प्रधानमन्त्री प्रचण्डले नै जानकारी दिनुभएको छ । केही सूचना आएकै छैन । राष्ट्रपति बन्न पार्टीहरूले आधिकारिक प्रस्ताव गरेको छैन । हामी सम्मानजनक र सर्वस्वीकार्य प्रस्ताव आए मात्र सोच्ने पक्षमा छौँ । त्यतातिर सोचेको छैन । पार्टी संगठन विस्तार गर्ने जुट्नुपर्ने छ ।’
उनले एमाले अध्यक्ष ओलीले भेटेर आफूलाई राष्ट्रपति बन्न गरेको प्रस्ताव हल्ला मात्र भएको बताए । उनले भने, ‘त्यस्तो कुनै कुरा भएको छैन । हामी आफ्नो विचारधारामा अडिक छौँ । कसैसँग एकता गर्ने कसैले भन्दा मानिहाल्ने पक्षमा हामी छैन ।’








