काममा लगाइदिने बहानामा युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

काठमाडौँ । युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली सार्कीले २० वर्षीया एक युवतीलाई भारतको चन्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा बेचेको प्रहरीले जनाएको छ । कोठी सञ्चालकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफू बेचिएको थाहा पाएकी थिइन् ।

यौन शोषण भइरहेको १२ दिनपछि गएको माघ २२ गते पीडित युवतीले आफ्नी आमालाई जानकारी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दाङमा युवती भारतमा बेचिएको उजुरी परेपछि विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरेर गएको फागुन ४ गते पीडकहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =