निक्षेप फिर्ता माग्दै बचतकर्ता आन्दोलित

काठमाडौँ । कैलालीको धनगढीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आफ्नो निक्षेप फिर्ता माग्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूले बचत गरेको पैसा सहकारीले हिनामिना गर्न खोजेको बचतकर्ताको आरोप छ ।

निक्षेप फिर्ता पाउन बचतकर्ता सङ्घर्ष समिति गठनसमेत गरिएको छ । उनीहरूले रकम फिर्ता गराउनका लागि जिल्ला प्रशासन कार्यालयसँग समेत आग्रह गरेका छन् । धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका बचतकर्ता सन्तराम रानाले आफूहरूले खाइनखाई बचत गरेको निक्षेप फिर्ता नपाउने अवस्था आएको बताए । उनले भने, ‘हामीले पनि रकम जम्मा गरेका छौँ । त्यो फिर्ता माग्दै सहकारी धाएको कैयौँ दिन भयो, अझै पाइएको छैन ।सहकारीमा पैसै छैन भन्दै अहिले त पदाधिकारी नै लुक्न थालेका छन् ।’

बचतकर्ताले बचत गरेको निक्षेप सहकारीले आफूखुसी लगानी गरेर अहिले सबै बचतकर्तालाई डुबाउन खोजिरहेको रानाको आरोप छ । जम्मा गरेको रकम फिर्ता नपाएपछि सयौँ बचतकर्ता समस्यामा परेका छन् । सहकारीले बचतकर्ताको रकम जथाभाबी लगानी गरेर आफूहरूमाथि ठगी गरिरहेको भन्दै उनीहरूले कारबाही गर्न माग गरेका छन्। सहकारीको धनगढी शाखामा मात्रै ३६ हजार नागरिकको बचत रहेको बताइन्छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित सङ्घर्ष समितिका अध्यक्ष देवदत्त भट्टका अनुसार सहकारी सञ्चालकले सर्वसाधारणको करोडौँ रुपियाँ जोखिममा पारेको छ । उनले भने, ‘मैले पनि आफ्नो ३० लाख रुपियाँ फिर्ता पाएको छैन । सञ्चालक हाम्रो पैसा खाएर भागेका छन् । त्यो पैसा फिर्ता नपाएसम्म हामी निरन्तर सङ्घर्ष गर्नेछौँ ।’

सहकारीले धनगढीमा रहेको आफ्नो शाखा कार्यालय केही दिनअघि बन्द गरेको छ । सहकारी बन्द गरिए पनि पैसा फिर्ता पाउने आसमा सहकारी कार्यालयमा बचतकर्ता दैनिक पुग्ने गरेका छन् । फिक्स बचत, दैनिक बचतकर्तादेखि लिएर ठूलो रकम सेयर लगानी गरेकाले अहिले आफ्नै पैसा फिर्ता पाउन आन्दोलन गरिरहेका छन् । एकैसाथ सबै बचतकर्ताले निक्षेप फिर्ता माग्न थालेपछि समस्या परेको सहकारीका सुदूरपश्चिम प्रदेश प्रबन्धक हेमराज जोशीको भनाइ छ ।

पैसा फिर्ता माग गर्दै बचतकर्ताले कार्यालय घेर्न थालेपछि समस्या भएको उनले बताए । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको यो सहकारीले धनगढीमा पनि आफ्नो शाखा विस्तार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *