प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

काठमाडौँ । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् । राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । विसं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।

‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले गत साउन १ गतेदेखि ‘श्रव्य दृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्बिर लगायतका सामग्री प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =