पोखरामा शनिबार अन्तर्राष्ट्रिय म्याराथन, ९ हजार धावक दौडिने

पोखरा । पोखरामा शनिबार अन्तर्राष्ट्रिय म्याराथन हुँदै छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १७ औँ संस्करणको पोखरा म्याराथन आयोजना गर्न लागिएको हो । प्रतियोगिताका विभिन्न विधामा ९ हजार धावक दौडनका लागि नाम टिपाएका छन् ।

खुला म्याराथनमा १ सय ५० जना धावकहरू सहभागी हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जनाले नाम दर्ता गराएका छन् । १० किलोमिटर पुरुषतर्फ १ हजार ५ सय र महिलातर्फ ६ सय जनाले नाम दर्ता गराएका मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।

५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रा दौडने छन् । छात्रतर्फ १ हजार ६ सय र छात्रातर्फ ६ सय जनाले नाम दर्ता गराएका छन् । ह्विप चियरतर्फ ३५ जना, दृष्टिविहीनमा ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ ।

प्रतियोगितामा १६ देशका धावक नेपाल आउने छन् । म्याराथनका विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख तथा चौथो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । गण्डकी प्रदेशका धावकहरूका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ ।

महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वनाका लागि १५ हजार प्रदान गरिने छ । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमशः प्रथम, द्वितीय, तृतीय हुनेले प्राप्त गर्ने छन् ।

यसै गरी मञ्चले ह्विलचियर र दृष्टिविहीन महिला-पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिने छ । पोखरा म्याराथनले यस वर्ष देखि अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *