प्रेमिल कविको दमदार कमब्याक, वसन्त चौधरीले विशेष बनाए प्रणय दिवस

काठमाडौँ । प्रेमको प्रतीक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोसाकमा सजिएका छन् । खचाखच भरिएको राजधानीको मण्डला थिएटरभित्रको शीतल वातावरण, रङ्गहरूको कलात्मक समायोजन र फूलहरूको सजावटले अझ प्रेमिल बनेको पल: मानौँ हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका हुन् अनि आपसमा प्रेम साट्न आएका हुन् ।

गुलाबी रातो र कालो रंगको पोसाकमा सजिएका कवि तथा गीतकार वसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ सुरु भयो । कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा दिइएको मन्द प्रकाशमा फिस्स हाँस्दै सुरु भयो चौधरीको एकल कविता वाचन ‘कवितासँग वसन्त’ ।

स्वास्थ्य समस्या लगायतका कारण झण्डै साढे ३ वर्षको निष्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा यसपटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए । ‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एकघण्टा पोखिए ।

सो क्रममा उनले एकदर्जन बढी कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए । चौधरीका कविता समकालीन मनुष्यका सुखदुख, हास्य एवम् रोदन अर्थात् प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् । यस्तै विशेषता यसपटकको प्रणय दिवसमा प्रस्तुत रचनाहरूमा समेत झल्कियो ।

सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हाँसो, सुखदुख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शीतल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरासरी गतिमय पनि ।’ उनले भने–‘जब मेरा भावनाहरूले शब्द उच्चारण गर्छन् । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’

कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोष समेत गरे । सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढसयजनाले उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह)को सामूहिक लोकार्पण समेत गरेका थिए । वसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो ।

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरू सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरूको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरू प्रकाशित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *