वि.सं. २०८० सालमा मलमासका कारण धकेलिए चाडपर्व, कहिले छ त दशैं र तिहार ?

काठमाडाैँ । वि.सं. २०८० सालको साउनमा अधिक मास परेको छ । जसका कारण हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन् ।

असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए । सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो ।

यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ । २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो । नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो । २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ ।

२०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ । आगामी चैत १५ गते चैते दसैं बनाइए पनि नयाँ सालमा चैते दसैं गायब भएको छ । मलमासकै कारण २०८० सालको चैते दसैं २०८१ मा पुगेको हो । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैत अष्टमीमा मनाइने चैते दसैं २०८१ को वैशाखमा परेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *