आतंकवाद नियन्त्रण बारे इन्टरपोलको सम्मेलनमा छलफल

आईजीपी सिंह नेतृत्वको टोली स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्। माघ २४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्मेलन भएको थियो।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरे। विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एसियाली

राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताउँदै एसियाली देशहरुबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताए।
कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरुले जोड दिएको आईजीपी सिंहले बताए।

इन्टरपोल स्थापनाको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरेको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आईजीपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरेको छ। इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरु सिंगापुर र लियोनमा कार्यरत छन्। यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको महानिरीक्षक सिंहले बताए। नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण खाडी लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरुलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको छ।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्षमेजर जनरल अहमद नासिर अल–रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए।

भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रुपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको छ।

सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल समेत गरेका थिए।

नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबि० काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी थिए।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो। यस अघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *