खेलकुद महासंघको राष्ट्रिय महाधिवेशन : एक हप्ता खेलकुदका गतिविधि हुने

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको विराटनगरमा गर्ने बारेमा सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले महाधिवेशनका बारेमा जानकारी गराएको हो ।

महासंघको महाधिवेशनको पूर्व सन्ध्यामा नेकोस राष्ट्रिय व्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता फागुन २ गते उद्घाटन भई फागुन ७ गते समापन हुने आयोजक मूल समारोह समितिका संयोजक नन्दा बस्यालले जानकारी दिइन् । राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता उद्घाटन नेपाल सरकारका उप प्रधान मन्त्री तथा अर्थ मन्त्री, नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्ने उनले बताइन् ।

महासंघले महाधिवेशन समुद्घाटनका अवसरमा केपी ओली रोडरेस प्रथम संस्करण २०७९ समेत आयोजना गरेको छ । उक्त प्रथम संस्करण केपी ओली रोडरेस (सडक दौड) प्रतियोगिताको समुद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय अध्यक्ष क. केपी शर्मा ओलीले गर्ने खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए ।

महासंघको महाधिवेशन फागुन ७ गतेदेखि हुने भएपनि त्यस अगाडिदेखि नै खेलकुदका गतिविधि एक हप्तासम्म हुने नेकाेस राष्ट्रिय एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरूद्र चौधरीले जानकारी दिए । चौधरीको संयोजकत्वमा राेडरेस हुनेछ । राेडरेस प्रतियोगितामा प्रथमलाई ५१ हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रोले १५ हजार, चौथो र पाँचौँले ८ र ५ हजार पाउने चौधरीले जानकारी दिए ।

महाधिवेशन समुद्घाटन दिन फागुन ७ गते कराँते, उसु, तेक्वान्दोलगायतका खेलहरू प्रदर्शन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गीतमा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए ।

नेपाल खेलकुद महासंघको राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोह आगामी फाल्गुन ७ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा विराट नर्सिङ होम पूर्व रहेको महोत्सव स्थल ( मैदान) मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाएको छ । बन्दसत्रको कार्यक्रम विराटनगर महानगरपालिका ३ स्थित मनासलु पार्टी प्यालेसमा सम्पन्न गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *