शपथ लिँदै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाह

काठमाडौँ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिँदैछन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

एक महिनाअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि शाहलाई बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पूरा गरेको जनाएको छ । सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन् । रेशम लाल चौधरीआबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पूरा नभएको भन्दै रावललाई विश्वासको मत दिएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *