ओली एक्ल्याउने प्रचण्डको चाल

काठमाडौँ ।  नेपाली कांग्रेसले अरू सम्पूर्ण पद त्याग्ने तर राष्ट्रपति पद आफूहरूलाई हुनुपर्ने अडान यथावत् नै राखेको छ । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका एक नेताका अनुसार सबै कुरा छाडेर कांग्रेसको ध्यान राष्ट्रपति निर्वाचनमा गएको र यो निर्वाचनमा जसरी पनि कांग्रेसका उम्मेदवारले जित्ने हिसाब गरेर नै माओवादीका उम्मेदवारलाई कांग्रेसले सहयोग गरेको बताउँछन् ।

ती नेताले भने, ‘राष्ट्रपतिमा कुनै कम्प्रमाइज नै छैन । माओवादी स्वयं राष्ट्रपति पद एमालेलाई दिनुपर्छ भन्ने पक्षमा छैन । माओवादी स्थायी कमिटीको बैठकमा पनि यही कुरा भएको छ भन्ने कुरा नेताहरूले सुनाउनु भएको छ । राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारमा सहमति गर्ने र निर्वाचन भए माओवादीले कांग्रेसलाई सहयोग गर्ने कुरा भएको छ । लिखित सहमति केही भएको छैन । तर विगतमा पनि एमालेले राष्ट्रपति पदको मर्यादाको खिल्ली उडाएको छ । दुई दुई पटकसम्म प्रतिनिधि सभा विघटन गर्ने खोज्दा जनताले कति दुःख पाए, कति कष्ट भोग्नुपरेको छ, हामीले बिर्सिएका छैनौँ । कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री सहमत हुनुहुन्छ । यो हाम्रो निष्कर्ष हो ।’

यस्तै, शनिबार दिउँसो माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पनि यही कुरा भएको बैठकका सहभागी एक नेताले मकालुखबरलाई बताए । ती नेताले भने, ‘बैठकमा उपस्थित सबै नेताहरूले सत्ता जोगाउनकै लागि कुनै सम्झौता नगर्न र सहमतिमै राष्ट्रपति निर्वाचन गर्ने अध्यक्ष कमरेडलाई भन्नु भएको छ । राष्ट्रपति एमालेले लिने हो भने सरकार चलाउन अवरोध आउने भएकाले पनि फरक व्यक्ति खोज्ने हो कि भन्ने कुरा चलेको छ । रवि ज्युलाई पटक पटक गृहमन्त्रालयमा फर्काउन एमालेले दबाब दिएका कारण पनि एमालेलाई राष्ट्रपति पद दिन नहुने स्थायी कमिटीको निष्कर्ष छ । एमालेले जुनसुकै बेला अप्ठ्यारो पार्ने सक्ने भएकाले यो कुरामा सजग भएर अगाडि बढ्न पनि कांग्रेसलाई राष्ट्रपति दिने भन्ने आवाजहरू उठेको छ ।’

जनादेशको हिसाबले सबैभन्दा ठुलो दल कांग्रेसलाई समेटेर लानुपर्ने देखिएकाले भोलि कोही सरकारबाट बाहिरिए पनि कांग्रेस लगायतका दलले सहयोग गर्ने भएकाले अहिले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने माओवादीको ठहर छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘२८ जना बोलेको स्थायी कमिटी बैठकमा अधिकांशले कांग्रेसलाई लिएर राष्ट्रिय सहमतिको सरकार बनाउन जोड दिएको थियौँ । र अध्यक्ष कमरेड यसमा सकारात्कम हुनुहुन्छ ।’

पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको राग अलाप्नु र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिई माओवादीकी उर्मिला अर्याललाई सर्वसम्मत हुन दिनुले नै यो कांग्रेस–माओवादी गठबन्धनको संकेत गरिरहेको छ ।

त्यसो त नेपाली राजनीतिमा सम्भावनाहरूको खेल खेल्न नेकपा एमाले अध्यक्ष केपी ओली अत्यन्तै खारिएका खेलाडी रहेको घटनाहरूले पुष्टि गर्छन् । चुनावअघिसम्म स्वतन्त्र उम्मेद्वारहरुको, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उछित्तो काढेका ओलीले १९ सिट रहेको रास्वपा सभापति रवि लामिछानेलाई दूधले नुहाइ रहेका छन् । एमालेबाट राष्ट्रपति बनाउन र साढे २ वर्षपछि फेरि आफू प्रधानमन्त्री बन्न उनले रविको नागरिकता मुद्दामा के अदालतलाई नै दोषी पनि देखाउन भ्याइसकेका छन् ।

तर एमाले भने सरकार बनाउने बेला भएको सहमति अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिनेमा प्रस्ट छ । उसले आफ्नै उम्मेदवारले राष्ट्रपति निर्वाचन जित्ने दाबीसमेत गरिरहेको छ । माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । तर उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसो हुँदा सत्ता गठबन्धन राष्ट्रपति निर्वाचनसम्म टिकिरहने अवस्था छ ।

याे पनि सत्ताको साँचो प्रचण्डसँग : ओलीलाई आउट गर्दै देउवा भित्र्याउने संकेत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *