प्रदेशसभामा सांसद कार्कीले नियमविपरीत बाेलेपछि…

विराटनगर । प्रदेश १ सभामा सोमबार एउटा फरक दृश्य देखियो । प्रदेश सभा शुरु भएसँगै प्रदेश सभामा सभामुख बाबुराम गौतमले प्रदेश सभा संचालन गरिरहेका थिए । नेपाली कांग्रेसका सांसद केदार कार्की एकाएक ढ्याप–ढ्याप पार्दै टेवुल ठोके । एकाएक टेबुल ठोकेको आवाजले सभामुख अलमलमा परे र उनले कार्कीलाई के भन्न खोज्नु भएको थियो भन्दै सोधे । सभामुखले सोधेपछि कार्कीले बोल्नै चाहेका थिए, जुरुक्क उठेर आफ्ना कुरा राख्न थाले ।
कार्कीले भने, ‘नयाँ प्रदेश सभा शुरु भएको ३ महिना पुग्न लागेको अबस्थामा, न सरकारले बिजनेश दिन सकेको छ, न त सभामा सांसदहरुले आफ्नो क्षेत्रको समस्याको बारेमा कुरा राख्न पाएका छन् ।’
उनले आफ्नो क्षेत्रको जनताको बारेमा बोल्न नपाएको, आफू निर्वाचित भएर आउँदै गर्दा गरेका बाचाको बारेमा पनि शुन्य समयको प्रयोग गर्न नपाएको अबस्थाको बारेमा जानकारी गराए ।
‘शुन्य समय हटाइएको छ, संसदमा सेटिङ जस्तो देखिएको छ,’ उनले भने, ‘कुनै अमुक एउटा जिल्ला विकास समितिको सर्बदलीय बैठक जस्तो गरेर संसदहरुले बोल्न अधिकारबाट बञ्चित गराउने बिषयमा आपत्ति जनाउँदछु ।’
कार्कीको अभिव्यक्तिलाई सभामुखले धन्यवाद दिए तर त्यहाँ कुनै सांसदले नियमापत्ति जनाएनन् ।
यसबारे प्रदेशसभा सचिवालयले प्रदेश सभा नियमावलीमा शुन्य समय र विशेष समयको व्यवस्था भएपनि ढ्यापढ्यापे समयको उल्लेख नभएको जनाएको छ ।
प्रदेश सभा सचिवालयका सुचना अधिकारी तथा कानुन अधिकृत प्रमोद विकले शुन्य र विशेष समयको व्यवस्थाबाहेक नियमानवलीमा ढ्याप–ढ्यापे व्यवस्था नभएको बताए ।
प्रदेश सभा संचालन भइरहेको समयमा चित्त नबुझेमा ध्यानकर्षण गर्नु पर्ने हुन्थ्यो त्यो समेत नभई ढ्यापढ्याप गरेर प्रदेश सभालाई अबरुद्ध भएको अवस्थामा नियमापत्तिको व्यवस्था भएपनि त्यो बारेमा कुनै सांसदले बोलेनन् ।
कार्कीको गतिविधिलाई अन्य सांसदहरुले नियमावली विपरीतको गतिविधि भनेका छन् । ढ्यापढ्यापेको अभ्यास अहिलेसम्म प्रदेश सभामा प्रयोग पनि नभएको र नियमावलीमा समेत व्यवस्था नभएको विषय हो । जतिबेला पनि ढ्यापढ्यापे अभ्यासले संसदको कार्यसूची नै प्रभावित हुने देखिएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक रेवती भण्डारीले कुनै विषयमा चित नबुझ्दा सभामुखलाई ध्यानाकर्षण गराउँदा पुग्थ्यो एक्लो सांसदले ढ्यापढ्याप गर्नु नियमावली विपरीत रहेकोले संसदीय गरिमा बाहिरको काम भएको बताए ।
‘एकजना सांसदले उभिएर आफ्ना कुरा राख्न सकिन्थ्यो, उनले भने, सभामुखको ध्यानाकर्षण हुन्थ्यो, सभामुखले बोल्न दिन पनि सक्नुहुन्थ्यो नदिन पनि सक्नुहुन्थ्यो सभामुखको ध्यानाकर्षण हुन्थ्यो ।’
ढ्यापढ्याप गर्ने भनेको दलहरुले सामुहिक रुपमा बिरोध गर्दा प्रयोग गरेको देखिन्छ तर यो बिषय संसदीय मर्यादा अनुसार नभएको उनको भनाइ छ। यस बारेमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुन्य समय कहिलेदेखि राख्ने, कसरी राख्ने, कतिसमयको लागि राख्ने भन्ने निर्णय कार्य ब्यवस्था तथा परामर्श समितिले गर्ने बताए । प्रदेश सभाको आज भएको प्रयोगलाई नियमापत्तिको रुपमा आफूले लिएको आङ्बोले बताए ।
नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापाले आफ्नो सांसदको बुझाइमा कमी रहेको बताए । आजको प्रदेश सभा बैठक नियमित पक्रिया अनुसार नै चलेको उनले स्पष्ट पारे । अहिलेसम्म सर्वदलीय निर्णयका आधारमा प्रदेश सभा संचालन रहेको भएपनि अब कार्यव्यवस्था परामर्श समिति गठन भएपछि भोलिदेखि विशेष समय शुन्य समय शुरु हुने स्पष्ट पारे ।
‘एकै पटक नियम, प्रक्रियालाई तोडेर अघि बढ्न सकिँदैन,’ उनले भने, ‘आजको बैठकसम्म आउँदा विशेष कार्यक्रम अनुसार नै आएकोले शुन्य र विशेष समय नराखिएको हो, यो बिषय हाम्रा साथीहरुले बुझ्नु भएन । सेटिङको कुरा जसले उठाउनु भएको छ, हिजो उहाँहरुले कसरी सेटिङमा चलाउनु भएको थियो उहाँहरुले नै जान्ने कुरा हाे ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *