मधेस प्रदेश

मुख्यमन्त्रीको बास होटेलमा, बल्ल थालियो निवास रङ्गरोगन

जनकपुरधाम । कार्यभार सम्हालेको तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् । निवास रङ्गरोगनको काम सम्पन्न नभएकोले नियुक्त भएको तीन सातासम्म पनि मुख्यमन्त्री यादव सरकारी निवासमा सर्न पाएका छैनन् ।

पुस २७ मा नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित एक होटेलमा बास बसिरहेका छन् । मुख्यमन्त्री यादव जनकपुरधामस्थित होटेल वेलकममा बसिरहेका छन् ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका यादवले दुईदिन पछि २९ पुसमा तीन मन्त्रीसहित शपथ ग्रहण गरेका थिए । सुरुमा मन्त्रीहरूलाई बिना विभागीय बनाइए पनि पछि उनीहरूको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रिमण्डल रहने मधेस प्रदेशमा मन्त्रीपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन ।

जनकपुर चुरोट कारखाना परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको छ । मुख्यमन्त्री बस्ने सरकारी निवासमा रङ्गरोगनको कार्य चलिरहेकोले उनी त्यहाँ नसरेको बताइएको छ । मन्त्रीहरू भने सरकारी निवासमा सरिसकेका छन् ।

यादवले २९ पुसमा शपथ लिएका थिए भने ४ माघमा बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए । यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे ।

मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *