हेमनारायणको १९औँ स्मृति दिवस : हत्याराको कारबाहीको पर्खाइमा सहिद परिवार

जनकपुरधाम । नेकपा एमाले सिरहाका तत्कालीन चर्चित नेता सहिद हेमनारायण यादवको १९ औँ स्मृति दिवस मनाइएको छ । बिहीबार उनको जन्मथलो सिरहामा स्मृति दिवस मनाइएको हो ।

सिरहा सदरमुकाम सिरहास्थित हेम नारायण चोकमा रहेको सहिद यादवको सालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो । २०६० माघ १९ गते हत्या भएको यादवलाई सरकारले तीन वर्षपछि सहिद घोषणा गरेको थियो ।

नेकपा एमाले सिरहा जिल्ला कमिटीको आयोजनामा भएको स्मृति सभामा सहिद यादवको सालिकमा सिरहा नगरपालिकाका मेयर समेत रहेका सहिद यादवका ज्येष्ठ सुपुत्र डा. नवीन कुमार यादवलगायत जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरूले माल्यार्पण गरी श्रद्धाञ्जली दिएका थिए ।

सहिद यादवको हत्याको १८ वर्ष बितिसके पनि अहिलेसम्म हत्याराहरूलाई कारबाही नभएको यादवका छोरा मेयर डा. नवीन कुमार यादवले गुनासो पोखे । तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपालले सहिद यादवकै स्मृति दिवसमा केही वर्ष अगाडी सिरहा आएर हत्यारा पातलो पर्दाको पछाडि रहेको तर आफूहरू सरकारमा नरहेकोले अगाडी ल्याउन नसके पनि छिट्टै हत्यारालाई कानुनको कठघरामा ल्याउने बताएका थिए ।

हुन त नेता नेपाल अहिले एमालेमा छैनन् । तर, एमालेमै रहेका बेला उनी प्रधानमन्त्री भए । तर उनकै भाषामा हत्यारालाई पातलो पर्दा पछाडिबाट अगाडि ल्याएर कानुनको कठघरामा उभ्याउन सकेनन् । एमाले अध्यक्ष केपी ओली पनि प्रधानमन्त्री हुँदा यादवका हत्यारालाई कारबाही गर्न चासो देखाएनन् ।

तर पनि एमाले नेताहरूले सहिद यादवको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता गर्न छाडेका छैनन् । एमालेले पटक-पटक सरकारको नेतृत्व गरे पनि हत्यारा कारबाहीको दायरा नआउँदा एमाले नै हत्याराको बचाउमा लागेको धेरैको गुनासो छ ।

बुवाको हत्यारालाई अझै कारबाही नभएकोमा सिरहा नगरपालिकाका मेयर समेत रहेका जेठो छोरा डा. यादवले दुःख व्यक्त गर्छन् । उनी भन्छन्,-‘माधवकुमार नेपालजीले अपराधी पर्दाको पछाडि रहेको भन्नुभएको थियो । त्यसैले पनि प्रधानमन्त्री भएको बेला उहाँलाई भेट्न पनि पुगेको थिएँ । तर उहाँले केही पनि गर्नुभएन ।’

उनका अनुसार हत्याको विषयमा छानबिन गर्न बनेको समितिले नेपाली सेना चोहर्वा ब्यारेकका कर्णेल बाबुकृष्ण कार्कीले नै घटना घटाएको भनिसकेको छ । संसदीय अनुगमन टोलीले पनि हत्यामा कर्णेल कार्कीकै संलग्नता रहेको भन्ने सबै प्रमाण सार्वजनिक गरिसक्दा पनि कारबाही भएको अवस्था छैन ।

‘कानुनको कार्यान्वयन पक्ष कमजोर भएकै कारण अहिलेसम्म न्याय पाउन सकेको छैन’, उनले भने, ‘अझै बुवाको हत्यारालाई कारबाही होला भन्ने पर्खाइमा छु ।’ स्मृति दिवसकै अवसरमा नेकपा एमाले सिरहा नगर कमिटीले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *