हिरासतको पर्खाल फोडेर भागेका ६ मध्ये ४ जना पक्राउ

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका ६ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो ।

उनी मिथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् । यसअघि मिथिला-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ-२ का २५ वर्षीय अमित मण्डल र मिथिला-६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मंगलबार राति र मण्डललाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ थुनुवा फरार भएका थिए । ४ जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *