क्यान महासंघले नयाँ सूचना प्रविधि प्रदर्शन गर्दै

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्ने भएको छ ।

२८ औँ संस्करणको क्यान इन्फोटेक मेला आउँदो माघ २४ देखि २९ गतेसम्म भृकुटीमण्डस्थित प्रदर्शनी हलमा हुने भएको छ ।

क्यान महासंघले आयोजना गर्न लागेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीमा अवलोकनकर्ताहरूले सूचना तथा सञ्चारका नौला उपकरणहरूको अवलोकन तथा खरिद गर्न पाउनेछन् । क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, प्रडक्ट अञ्चिङसँगै आइटी करियर काउन्सिलिङ, कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । साथै नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्राथमिकता दिइएको छ ।

क्यान महासंघले राजधानीमा मात्र नभई सातैवटा प्रदेशमा सूचना तथा प्रविधि मेला आयोजना गर्ने भएको छ । मधेस प्रदेशमा फागुन ५ देखि ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि ६ गतेसम्म क्यान इन्फेक्सन गर्न लागेको छ ।

साथै प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाडै क्यान इन्फोटेक आयोजना गरिने क्यान महासंघले जनाएको छ । इन्फोटेकको टिकेट क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पेवेल मार्फत खरिद गर्न सकिने जनाएको छ । टिकटको मूल्य सर्वसाधारणका लागि रु १ सय र विद्यार्थीका लागि रु ५० शुल्क तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *