जनकपुरधाममा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको रङ्गभूमि मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अन्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इङ्गलिस बोर्डिङ स्कुल र सिद्धार्थ शिशु सदन माविबिच भइरहेको छ । खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा गरेका थिए ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकेट संघलाई सुझाव पनि दिए ।

‘पहिला खेलसँग लगाव थियो । दैनिक खेल खेल्थे,’उनले विगत सम्झिँदै भने,‘अव खेलमा लगानी गर्ने ठाउँमा छु । खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौँ ।’

अन्य वक्ताहरूले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए ।

‘वर्षौँदेखि खेलको समस्या जहाँको त्यहीँ छ,’उनले भने,‘तर अहिले सम्म सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन । नेता र जनप्रतिनिधिहरु चुनावको बेला मात्रै ठुला ठुला भाषण गर्छन् ।’

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता १२ वटा विद्यालयको टिम सहभागिता जनाएका छन् । तीन समूहमा विभाजन गरी लिग प्रणालीमा क्रिकेट प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरूको समूह बनाएर नियमित प्रशिक्षण दिइने आयोजक संस्थाको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *