बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको कुरुवा बस्न ५ सय धरौटी राख्नु पर्ने

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीका कुरुवा बस्नेहरूले ५ सय धरौटी राख्नु पर्ने नियम ल्याएको छ । बिरामी र उनीहरूको आफन्तको भीड अस्पतालमा बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस्तो नियम ल्याएको जनाएको छ ।

यो अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामीहरू इमर्जेन्सीमा आउने गरेका छन् । बिरामी लिएर आउने, आफन्तलगायत अन्य मानिसको भिडका कारण अस्पतालमा तनाब बढेको भन्दै त्यसलाई कम गर्न यस्तो व्यवस्था ल्याइएको जनाएको छ ।

बिरामी कुरुवा पासबापत लिइने धरौटी वापतको रकम ५ सय बिरामी डिस्चार्ज भएपछि वा वार्डमा भर्ना भएपछि इमर्जेन्सी बिल काउन्टरबाट नै फिर्ता गरिने व्यवस्था मिलाइएको प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले जानकारी दिइन् ।

‘कुरुवालाई उपलब्ध गराइएको भिजिटर पास कुरुवा परिवर्तनका लागि पनि प्रयोग गर्न सकिने छ,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निःशुल्क हुने समेत व्यवस्था मिलाइएको छ ।’

बिरामीलाई सहज रूपमा गुणस्तरीय एवम् प्रभावकारी उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानले एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरिएको जनाएको छ । एकै जना बिरामीका धेरै कुरुवा हुँदा कुरुवाको भीड बढ्ने र यसले बिरामीमा अनेक रोगको संक्रमण हुने जोखिमसमेत थपिने अस्पताले जनाएको छ ।
त्यस्तै, बिरामीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधालाई सहज रूपमा पुर्याउन असहज भएको लगायत कारणले यस्तो व्यवस्था गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इमर्जेन्सीमा आएका बिरामीहरू सामान्य घाउ चोटपटक लगायत अङ्गभङ्ग अति संवेदनशील अवस्थाका समेत बिरामी आउने गरेकाले एक जना मात्र कुरुवाको व्यवस्थाले बिरामीलाई उपचारमा सहज हुने प्रतिष्ठानको विश्वास रहेको छ ।’

बिरामीको अवस्था अनुसार एक जनाभन्दा बढी कुरुवा बस्नु पर्ने भएमा इमर्जेन्सीमा कार्यरत चिकित्सकको सिफारिस मा कुरुवा पास उपलब्ध गराइने व्यवस्था समेत मिलाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले बिरामी र कुरुवालाई सहजताको लागि भन्दै लागु गरेको यो नियमले सेवाग्राहीलाई भने समस्या हुने देखिएको छ ।

कुरुवा बसेबापत धरौटी तिर्नु पर्ने ५ रुपैयाँको कारण सेवाग्राहीलाई भने हैरान हुने देखिएको छ। बिरामीलाई समस्या परेर अस्पताल गएका बिरामीका आफन्तले कुरुवा बसेबापत ५ सय रुपैयाँ धरौटी लगाइनुलाई सेवाग्राहीले दुःख दिने काम प्रतिष्ठानबाट भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *