हिन्दु धर्मावलम्बीहरूले आज श्रीपञ्चमी पर्व मनाउँदै (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने धार्मिक विश्वास रहिआएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

हिन्दुहरूले विद्याकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरहरूमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राहरूको घुइँचो लाग्ने गर्छ ।

  • तस्बिर काठमाडौँको निल सरस्वती मन्दिरमा लिइएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *