काउलीले बजार भाउ पाउँदा उत्साहित हुँदै किसान 

भन्छन् : काउली खेतीमा ७५ प्रतिशत फाइदा छ

काठमाडौँ । नेपाली बजारमा तरकारीको मूल्य दैनिक रूपमा घटबढ हुने गर्छ । खेतबारीमा उत्पादन भएका तरकारीले बजार र उचित मूल्य नपाउँदा किसानहरूले घाटा व्यहोर्नु परेको छ । तरकारीको मूल्य सुनिश्चित गर्न किसानहरूले सरकारसँग माग गर्दै आएका छन् । तर, यो माग सरकारले सुनको छैन । यद्यपि, यो वर्ष भने काउली उत्पादन गर्ने किसानहरू खुसी भएका छन् ।
हिउँदे काउली रोपेको करिब ४ महिनापछि खान योग्य हुन्छ । गत वर्ष काउली उत्पादन राम्रो भए पनि उचित मूल्य नपाउँदा घाटा भएको किसान सुशीला कार्की बताउँछिन् । उनकाअनुसार सिजनको सुरुमा काउलीले राम्रो मूल्य पाए पनि पछि मूल्य घट्दा घाटा व्यहोर्नु परेको थियो ।
यस पटक किसानहरूले काउलीबाट राम्रो मूल्य प्राप्त गरेको उनी बताउँछिन् । केही दिनअघि काउलीको मूल्य ३०–४० रुपैयाँसम्म थियो । अहिले ५० रुपैयाँ भएको छ । काउलीको मूल्य ५० रुपैयाँसम्म हुँदा किसानलाई घाटा नहुने उनको भनाइ छ ।
किसान केदार प्रधानका अनुसार सिजन सुरुबाटै काउलीले उचित मूल्य पाउँदा काउलीबाट ७५ प्रतिशत फाइदा भएको छ । भन्छन् ‘काउलीले राम्रो मूल्य पाउँदा ७५ प्रतिशत नै फाइदा भयो ।’ यो वर्ष काउलीको मूल्यमा गिरावट नआएकाले फाइदा भएको उनको भनाइ छ ।
किसान सीता बस्नेत पनि उनको कुरामा सहमत छिन् । अरू खेतीभन्दा काउली खेतीमा फाइदा रहेको उनको भनाइ छ । उनका अनुसार २ रुपैयाँमा काउलीको बिरुवा पाइन्छ । १५ रुपैयाँको मल मात्र हालेर गोडमेल गर्दा पनि आधाभन्दा बढी फाइदा निकाल्न सकिन्छ ।
उनी भन्छिन्– ‘बिरुवा किन्दा पनि २ रुपैयाँमा पाइन्छ । ती बिरुवाहरू ३ महिनामा तयारी हुन्छन् । यदि १५ रुपैयाँको मलहरू हाल्यौँ भने पनि राम्रो भाउ पाउँदा त फाइदै हुन्छ ।’ कुरा प्रष्ट्याउँदै उनले भनिन्– ‘बिउ किनेर आफैँले बिरुवा राख्दा करिब ८ सय रुपैयाँ खर्च लाग्छ । त्यसबाट झन्डै ७ सय ओटा बिरुवाहरू निस्कन्छन् । ती बिरुवा २ रुपैयाँका दरले बिक्री गर्दा १४ सय जति फाइदा हुन्छ ।’
सीताका अनुसार बिरुवामा राम्रो मलजल गर्नुपर्छ । बिरुवाले राम्रो मलजल पाएमा, बजार र उचित मूल्य पाएमा काउली खेतीबाट फाइदा हुने उनको तर्क छ । साथै काउली खेती घाटा नलाग्ने उनको भनाइ रहेको छ । भन्छन् ‘भाउ आयो भने ७५ प्रतिशत नै फाइदा हुन्छ । भाउ त आउनु पर्याे नि ।’
यसपटक किसानले काउलीको राम्रो मूल्य प्राप्त गर्दा ७५ प्रशित फाइदा भएको बताउँछन् । उनका अनुसार काउली खेतीमा फाइदा भए पनि चुनौती धेरै छन् । भन्छिन्, ‘सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा काउलीलाई हुर्काउनै गाह्रो पर्छ । समयमा पानी, मल नपाउँदा बिरुवा बढ्दैनन् । किरा त्यत्तिकै लाग्छ । औषधि हालेन भने हुँदैन ।’
उत्पादन भएका तरकारीले उचित मूल्य पाउँदा यसपाली किसान खुसी भएका छन् । भक्तपुरमा अधिकांश किसानले सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा खेती गर्न समस्या भएको बताएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *