सुदूरपश्चिममा नबिल एसएसई कार्यक्रमको समापन

धनगढी । नबिल बैंकले यस वर्षदेखि सञ्चालन गरेको गैर नाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमको पहिलो संस्करण सुदूरपश्चिममा सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाको पहिलो संस्करण सोमबार सम्पन्न भएको हो ।

उक्त कार्यक्रमबाट दीक्षित २२ जनालाई सोमबार एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरियो । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै मेयर हमालले धनगढीका युवाहरूलाई उद्यमशील बनाउने नबिल बैंक र एसपीए कलेजले खेलेको भूमिकाको प्रशंसा गरे ।

‘युवाहरूलाई व्यापार व्यवसाय, उद्यममा लगाउन सकियो भने समाज, राष्ट्रको विकास आफै हुन्छ,’ हमालले भने, ‘धनगढीमा एसपीए कलेजसँगको सहकार्यमा नबिल बैंकले गरेको प्रयास सह्रानीय छ । आगामी दिनमा यस्ता अन्य कार्यक्रम हुने विश्वास लिएको छु ।’

नबिल बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख टेकराज भट्टले २२ जना उद्यमीलाई पहिलो कार्यक्रममार्फत विकास गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले पहिलो ब्याचका विद्यार्थीलाई लिडरसिप ग्रुम गरेको र उनीहरू ढुक्कसँग व्यवसाय गर्न सक्ने अवस्थामा पुगेको बताए । एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दीक्षित सहभागीहरूलाई बधाई ज्ञापन गर्दै सहभागीमध्ये उत्कृष्ट उद्यमशील आइडियालाईलाई एसपीए कलेजले लगानी गर्ने बताए ।

कार्यक्रम संयोजक प्रेमराज जोशीले समग्रमा कार्यक्रम सफल भएको बताए । उनले कार्यक्रमको उद्देश्यअनुरूप युवाहरूलाई उद्यमशीलताको मार्गमा अघि बढाउन सकिएकोमा सन्तुष्टि व्यक्त गरे । संयोजकका रूपमा जोशीको यो अन्तिम कार्यकाल समेत थियो ।

अब संयोजकका रूपमा एसपीए कलेजका उपप्राध्यापक मनोज भट्टले कार्यक्रम अघि बढाउनेछन् । नयाँ ब्याचका लागि समेत आवेदन आह्वान भइसकेको छ । आवेदन दिन चाहने विद्यार्थीले एसपीए कलेजको वेबसाइट तथा सामाजिक सञ्जालमा गएर अनलाइन फाराम भर्न सक्नेछन् ।

एसपीए कलेजका प्रमुख योगराज उपाध्यायले नबिल बैंकसँगको सहकार्यमा कलेजले युवाहरूलाई उद्यम बनाउने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरूसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो । नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *