‘माउजङ बाबुसाहेबको कोट’ : समयसँगै साेच बदल्नु पर्ने सन्देश

काठमाडौँ । ‘माउजङ बाबुसाहेबको कोट’ प्रसिद्ध साहित्यकार भवानी भिक्षु (१९६६–२०३८) द्वारा लेखिएको चर्चित नेपाली कथा हो । वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक ‘माउजङ बाबुसाहेबको कोट’ कथालाई सबिन न्यौपानेले नाट्य लेखन गरेका हुन् । विवेक न्यौपाने(घने) ले निर्देशन गरेको यो नाटक शैली नाटकघरमा मञ्चन गरिएको छ । २००७ सालको राजनीतिक पृष्ठभूमिलाई आधार बनाएर लेखिएको यस कथामा विर्तावाल घरानिया राणा उर्फ माउजङ बाबुसाहेबको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

नाटक सुरुदेखि अन्त्यसम्म माउजङ बाबुसाहेब र उनको कोटमा नै केन्द्रित रहन्छ । नाटकमा माउजङ बाबुसाहेबलाई राणाकालको कुलिन र क्रोधित चरित्रको रुपमा देखाइएको छ भने कोटले राणाकालीन समयको प्रतिनिधित्व गरेको छ ।

उक्त नाटकमा माउजङ बाबुसाहेबले आफ्नो जीवनमा कोही विशिष्ट राणा खानदानसँग सम्बन्धित व्यक्तिबाट एउटा ओभरकोट बक्सिस पाएको भनिएको छ । उनले भोज, भेला, भेटघाट जहाँ पनि, जहिल्यै र जुनसुकै कार्यक्रममा पनि त्यही ओभरकोट लगाएर जान्छ । उनले त्यस कोटलाई आफ्नो जात, इज्जत र प्रतिष्ठाको रुपमा लिएको छ ।

वि.सं २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना हुँदा देशमा आएको प्रमुख राजनीतिक परिवर्तनपछि कोटले पाउने मान सम्मानको मूल्यमा क्रमिक रुपमा गिरावट आउन थाल्छ । उक्त कोटमा कालो मैलोको धर्साे बस्छ र पुरानो भई रंग खुइलिएर फुस्रो हुन्छ । कोट कै कारण माउजङ बाबुसाहेब हाँसोको पात्र बन्न पुग्छन् ।

तर पनि कोटलाई सधैँ सफा र हिफाजत साथ राख्ने गरेका माउजङ मर्मतकै लागि भारतको लखनउसम्म पुग्दछन् ।

देशमा प्रजातन्त्र आइसक्दा पनि राणाकालीन रबाफमा जिउने माउजङमा तथानाम गाली गर्नु, उदण्ड स्वभाव देखाउनु, अर्कालाई दुःख दिनु जस्ता स्वभावहरू यथावत रहन्छ । भवानी भिक्षुले माउजङ बाबुसाहेवबका माध्यमबाट तत्कालीन राणाहरूका अवस्थालाई चित्रण गरेको छ ।

नाटकका केही दृश्यले राणाहरूको व्यभिचारी स्वभाव र प्रजातन्त्रपछि उनीहरूले भोग्नु परेको आर्थिक समस्यालाई पनि देखाएको छन् । रैखिक ढाँचामा लेखिएको यस नाटकमा रानीसाहेब, सुसारे, केटो, स्वकीय सचिव, बडाहाकिम, सहकर्मचारी जस्ता विविध पात्रहरू उपस्थित भएका छन् ।

नाटकको अन्त्यमा माउजङ बाबुसाहेबको परिवर्तित रुप देखाइएको छ । कथाकारले माउजङ बाबुसाहेबका माध्यमबाट परम्पराप्रतिको मोह मानिसहरूले त्याग्नु पर्ने र समयको परिवर्तनसँगै आफूलाई समाहित गर्नुपर्ने जस्ता सन्देश दिइएको पाइन्छ ।

सरल र सुबोध्य भाषाशैली अँगालेको नाटक ‘माउजङ बाबुसाहेब’मा राम्रो अभिनय देख्न सकिन्छ । नाटकघरको मञ्चमा भएको सेटअपले नाटकलाई जीवन्त बनाएको छ । नाटककारले मेकअप र पहिरनमा विशेष ध्यान दिइएको छ । तर कथा अनुसारको सुरुमा देखाइएको फोहोर कोट र लखनउमा ड्राइक्लिन गरेर ल्याइएको कोटमा भिन्नता नहुँदा दर्शकहरूमा भाव बोधमा कमी आउनसक्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *