माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकता कि कार्यगत माेर्चाबन्दी ?

विचार मिल्नेसँग छलफल सुरु भएको छ : अध्यक्ष नेपाल

काठमाडौँ । पछिल्लाे समय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकताको हल्ला सुरु भएको छ । हुन त पार्टी एकताबारे हल्ला भएको यो पहिलोपल्ट भने होइन । ५ पुस २०७७ पछि नै माओवादी र माधवकुमार नेपाल मिल्छन् भन्ने चर्चा व्यापक थियाे । तर नेपालले तत्कालीन नेकपा एमाले परित्याग गरेर पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झालनाथ खनालको साथ लिएर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरे । उनी न एमालेसँग फर्किए न त माओवादीसँग नै मिले । २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता गरेर । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन, मंसिर ४ भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि फेस गरे । तर प्रतिनिधि सभाको निर्वाचनमा थे्सरहोल्ड कटाउन नसक्दा यो पार्टी हाल राजनीतिक दलको तानातानमा छ ।

हिजो आइतबार नेकपा एस र माओवादी केन्द्रबिच छलफल भएकाे थियाे । त्यसको केही दिनअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबिच पनि छलफल भएको थियो । नेपाल र यादवले पनि पार्टी एक भएर जाने विषयमा संवाद गरेको स्रोतले पुष्टि गरेको छ । आइतबार भने एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला, विजय पौडेलले माओवादीका कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतसँग पेरिस डाँडामा वार्ता गरेका थिए । सो वार्तामा दुवै पार्टीले दस्ताबेज आदान–प्रदान गरेका छन् । अब भने पार्टी एकता या कार्यगत एकता गर्ने भन्ने बाटो खुलेको छ ।

सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मकालुखबरसँग कुरा गर्दै विचार र सिद्धान्त मिल्नेसँग एकता सहकार्यको छलफल भइरहेको बताए ।

‘साम्यवाद, मार्क्सवाद, लेनिनवाद जनताको बहुदलीय जनवादको सिद्धान्त मिल्ने पार्टीहरूमा एकता जरुरी भएको पनि तर्क गरे,’ उनले भने, ‘हामीले विचार मिल्ने भावना मिल्नेसँग एकता गर्ने बाटो खोलेका छौँ । अहिले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र अन्य पार्टीसँग पनि छलफल चलिरहेको छ । हामी पार्टी एकता, मोर्चागत एकता, र सहकार्यको सम्भावना हेरेर मात्र के गर्दा राम्रो हुन्छ त्यो गर्ने छौँ । एकताको सन्दर्भमा विचार मिल्नेसँग एकता गर्ने भन्ने हो । तर एमालेसँग एकता गर्ने कुरा चाहिँ नजाने गाउँको बाटै नसोध्नु भनेजस्तै हो । माओवादीसँग छलफल र संवाद हुँदै आएको हो र हुन्छ पनि ।’

के छ अन्य नेताहरूको धारणा ?
पछिल्लो समय नेकपा एसले जसपासँग भन्दा नेकपा माओवादी केद्रसँग एकता गर्न रुचाएको कुरा बाहिर आएका छन् ।

नेकपा एकीकृत समाजवादीका एक नेताले भने, ‘जसपाभन्दा माओवादीसँग पार्टी एकता गर्दा धेरै कुरा मिल्ने भन्ने भएको छ । सम्मानजनक स्थान पाए माओवादीसँग किन नमिल्ने भन्ने आवाज आएको छ । तर माओवादीसँग एकता गरे माओवादी पार्टी नरुचाउने मानिसहरू पुन: एमालेसँग फर्कन्छन् भन्ने डर पनि छ । त्यो कारण पार्टी एकता या सहकार्य के गर्ने भन्ने कुरामा निर्णय भएको छैन ।’

यस्तै, अर्का एक नेताले पनि माओवादीसँग एकता हुने सम्भावना सुनाउँदै भने, ‘तत्काल एकता त नहोला तर कार्यगत एकता गरेर जाने कि भन्ने कुरा छ । हामी माओवादीसँग मिलेकै थियौँ । माओवादीसँग कुरा नमिलेर पार्टी एकता टुटेको होइन । अदालतले कुरा भङ्ग गरेपछि माओवादी पुरानै माओवादीतर्फ फर्कियो । केपी ओलीले नेतृत्व गरेको समूह पुरानो एमालेमा फर्कियो । र हामीले नेकपा एस गठन गरेका हौँ । अब हामी एक भएर जाऊँ न त भन्ने कुरा छ । पार्टी एकता गर्ने सम्भावना बढेर गएको छ । ’

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबिच एकताको विषयमा आइतबार दस्ताबेज आदान–प्रदान भएको थियो । दुवै दलका नेताहरूले दस्ताबेज आदानप्रदान गरेर एकताको संवाद अगाडि बढाएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए ।

भुसालले भने, ‘आइतबार भएको बैठकमा नेकपा एकीकृत समाजवादी र माओवादीबिच दस्ताबेज आदान प्रदान भएको छ । यसको अध्ययन गर्ने समय लाग्छ । जसपासँग केही दिन अगाडि वार्ता भएको थियो । सो वार्तामा उहाँहरूसँग पनि दस्ताबेज आदान प्रदान भएको छ । हामीले दुवै पक्षको दस्ताबेज अध्ययन गरिरहेका छौँ ।’

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउनु आजको आवश्यकता रहेको बताउँदै आफूहरू त्यो बाटोमा रहेको तर्क गरे ।

उनले भने, ‘नयाँ परिस्थिति अनुसार अगाडि बढ्ने छौँ । कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ भनेर त हामीले बारम्बार भन्दै आएकै हो ।’

पार्टी एकता कि कार्यगत मोर्चाबन्दी ?
अध्यक्ष नेपालले पनि तत्काल एकता हुन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘एकताको हल्ला खल्ला त पहिलेदेखि चलिइआएको हो । र यो निरन्तर चल्ने छ । हामी पार्टीमा विचार मिल्ने वाम एकता रुचाउनेहरूसँग एकता गर्ने मार्ग खोलेका छौँ । हामीलाई हतारो छैन । हाल छलफल चलिरहेको हो । हामी कुराकानी गर्ने ओपन भएका छौँ । पुरानो नेकपा मानन्धर समूहका नेता चन्द्रदेव जोशीसँग पनि छलफल गरिरहेका छौँ । यो देखेर खुसी लागेको छ । अचम्म पनि लागेको छ । अचम्म किन लागेको भने हामीलाई कमजोरी ठानेर हलुको बनाको त होइन । तर हामी हलुको होइन । हतार छैन । सोचेर विचार गरेर निर्णय गर्ने हो ।’

हालसम्मको अवस्था हेर्दा पार्टी एकता गर्ने या मोर्चागत एकता गर्ने भन्ने बारेको निर्णय आएको छैन । तर समाजवादीका अधिकांश नेताले कार्यगत मोर्चा एकता गर्ने दवाफ दिइरहेको बुझिएको छ । नेकपा एसका एक नेताले भने, ‘हाल कार्यगत एकता मात्र गर्ने हो । पार्टी एकता अहिले सम्भव नै छैन । हामी यो पाँच वर्षमा पार्टीलाई थप मजवुद र सशक्त बनाउन चाहान्छौँ । हाम्रो पहल भनेको कार्यगत एकता हो ।’

यस्तै माओवादीका एक नेताका अनुसार समाजवादी अहिले मिल्ने भन्ने कुरामा सहमत छैन । ती नेताले भने, ‘उहाँहरूले मोर्चागत एकताको कुरा उठाउनु भएको छ । हिजो पनि त्यही विषयमा छलफल भयो । हामी पार्टी एकता गरौँ भन्ने पक्षमा छौँ । अहिले पार्टी एकता हुन सम्भव नहोला ।’

ती नेताका अनुसार पाँच दलीय गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर सरकारमा गएको कुराले पनि नेकपा एसको चित्त दुखाई रहेको बताइन्छ ।

उनले थपे, ‘पुराना कुराहरूका कारण पनि उहाँहरू ढुक्क हुनुहुन्न । फेरि तत्काल नेकपा माओवादीसँग एकता गरे उहाँहरूका कार्यकर्ता एमालेतिर फर्कने पो हुन् कि भन्ने पिर पनि छ । त्यो कारण मोर्चागत एकता हुन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *