टाइगर कप भलिबल सुरु, घरेलु टोलीको विजयी सुरुआत

पोखरा । पोखरामा आजदेखि तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला/पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबार भएको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै घरेलु टोली गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट २५–२० तथा तेस्रो सेट २५–१६ ले जित निकाल्यो ।

आइतबार नै भएको पुरुष तर्फको दोस्रो खेलमा साबिक विजेता नेपाल आर्मी सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ ।

आर्मीले पहिलो सेट २५–२० ले जित्दै एपिएफलाई दबाबमा राखेपछि दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेर एपिएफले सुन्दर पुनरागमन ग¥यो ।

त्यसपछिका सेटमा २६–२४ र २५–१९ को जित निकाल्दै एपिएफले जित दर्ता गरेको हो । महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ३–० को सोझो सेटमा जित निकालेको छ । न्यु डायमन्ड क्लबलाई २७–२५, २५–१७ र २५–२३ स्कोरले जित्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीलाई खेलकुद र स्वास्थ्यको हब बनाउने दाबी गरे ।

‘गण्डकीमा आवश्यक पूर्वाधार बनिसकेको छ । अब यसलाई व्यवस्थित बनाउँदै समृद्ध प्रदेशको रूपमा विकास गर्न चाहान्छौँ,’ उनले भने । स्वास्थ्यका लागि दर्जनौँ अस्पताल भन्दा एउटै रङ्गशाला पर्याप्त हुने भन्दै उनले खेल पूर्वाधारको संरक्षण र संबर्द्धनमा सरकारले निरन्तर पहल गर्ने बताए । प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी र न्यु डायमन्डसँगै गण्डकी प्रदेश र एपिएफ क्लब सहभागी छन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मी सहित सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी छन् ।

प्रतियोगितामा दुवै तर्फका विजेताले ५–५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *